एएनआई- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपत्काल घोषणा गरेको छ । यसैबीच, मंगलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ ।
यसअघि शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १४७ वटा परकम्प आएका थिए र तीमध्ये केही ६.१ र ६.६ म्याग्निच्युडसम्मका थिए । भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको थियो । सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा भएको छ भने पनामा सहरमा पनि क्षति पुगेको छ । प्रारम्भिक विवरणमा केही मानिस सामान्य घाइते भएको जनाइएको थियो ।
राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्य समन्वय गर्न, स्रोतसाधन व्यवस्थापन गर्न र प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिएका छन् । सरकारले चन्दा संकलन केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालमा बिरामीलाई बाहिर निकालेर उपचारको व्यवस्था गरेको छ ।
भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो भने देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल सावधानीका लागि अस्थायी रूपमा बन्द गरी पछि पुनः सञ्चालनमा ल्याइएको थियो । अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो । अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि खतरा नरहेको जनाएको थियो ।