- जलविद्युत् परियोजनामा काम गर्ने सन्दीपले बाढी आएको देखेपछि सुतिरहेका १२२ जनालाई उठाएर भगाए, आफू पनि भागेर ज्यान जोगाए
- एक मिनेटमात्रै ढिला भएको भए सबै बग्थे बाढीमा
- आँखै अगाडि सेनाको ब्यारेक, प्रहरी चौकी बग्दा टुट्यो सन्दीपको हृदय
- सुरुङभित्र फसेकाहरु जीवितै उद्धार हुने आशा
- बेपत्ता भएकाका परिवारका लागि हेलिकप्टर बन्यो आशाको प्रतीक
नुवाकोट- रसुवाको मैलुङस्थित जलविद्युत् परियोजनामा कार्यरत सल्यानका सन्दीप राना (४१) को बुधबार घर फर्किने दिन थियो । बिहान उनी नुहाउन भनेर उठे । उठ्दा त्यस्तै ९ बजेर ३६ मिनेट गएको थियो । उनका ४९ जना साथी गहिरो निद्रामै थिए । उनी भने नुहाउनका लागि कोठाबाट बाहिर निस्किए । त्यही क्षण उनको नजर एक्कासि कालो मुस्लोसहित उर्लिएर आएको भोटेकोशी बाढीमा प¥यो ।
केही सेकेण्डअघिसम्म घर जाने तयारीमा रहेका रानासामु अब आफ्नै ज्यान जोगाउने कि सुतिरहेका साथीहरूको ज्यान बचाउने भन्ने प्रश्न थियो । उनले दोस्रो बाटो रोजे । ‘एक्कासि बाढी आएको देखेँ । मान्छेका लासहरू उफार्दै ल्यायो,’ शुक्रबार नुवाकोटको बट्टारस्थित ‘होल्डिङ सेण्टर’मा भेटिएका रानाले भयावह त्यो क्षण सम्झिँदै प्रभावसँग भने, ‘कुद्दै गएर सुतिरहेका सबै साथीहरूलाई उठाएँ र छेउमै ७३ जना कामदारलाई पनि भनेँ । एक मिनेट ढिला भएको भए सबै बग्थ्यौं नदीमा ।’
राना र उनका साथीहरू चाइना पावर कम्पनीले निर्माण गरिरहेको परियोजनास्थलमै रहँदाको अवस्थामा बाढी आएको हो । रानाले साथीहरूलाई उठाएर सुरक्षितस्थलतर्फ भगाएको केही क्षणमै भीषण बाढी आइपुग्यो । उनीहरू उकालो भागभाग गरे । रानालाई नै त्यसबेला लड्दा हातमा गहिरो चोट लाग्यो । तर, त्यहाँ उनकै कारण ठूलो मानवीय क्षति हुनबाट जोगियो ।
बिहीबार राति नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएका राना भन्छन्, ‘मलाई त अहिले पनि सपनाजस्तो लागिरहेको छ ।’ घर सल्यानको खाँडाचक्र हो । घर जान साथीहरूभन्दा छिटो उठेकै कारण उनीसहित १२२ जना साथीहरूको ज्यान जोगिएकामा उनी खुसी छन् । तर, नजिकै रहेको नेपाली सेनाको ब्यारेक बाढीमा बग्यो । केही तल रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि चौकी बग्यो । चौकी–ब्यारेकसँगै सुरक्षाकर्मीहरू उनकै आँखाअगाडि बगे ।
सुरक्षित स्थानमा पुगेर हेर्दा उनीहरूले बाढीले बगाउँदै गरेको गाडीबाट मान्छेहरूले हात हल्लाउँदै उद्धारको याचना गरेको देखे । तर, चाहेर पनि जान सक्ने स्थिति थिएन ।‘गाडीहरू यति धेरै बगायो कि कुनै गाडीबाट त हाल हल्लाउँदै गुहार–गुहार भनेको देख्यौं । तर हाम्रो केही सीप लाग्ने स्थिति थिएन, हेर्दाहेर्दा मानिसहरू कति बगे बगे,’ उनले भने ।
सुरुङबाहिर प्रार्थना
न विद्युत् छ, न सञ्चार नै । सडक त छँदै छैन । हुस्सुले घरीघरी रसुवाको धुञ्चेलाई ढाकिरहन्छ । त्यहीँ छन्– पत्रकार जसिन्द्र श्रीपाली । आफन्त उद्धारका लागि गएका उनको आँखा भने नजिकै पर्ने माथिल्लो त्रिशूली–१ (२१६) जलविद्युन् आयोजनाको सुरुङतिरै छ । जहाँ सुरुङभित्र कम्तीमा २०० मानिस फसेको आशंका छ । बाढी आएको चार दिन बितिसक्दा पनि उनीहरू सकुशल छन् कि छैनन् भन्ने यकीन हुन सकेको छैन ।
श्रीपालीका सानो बुबासमेत त्यही सुरुङभित्र फसेका छन् । उनका लागि यो घटना पारिवारिक पीडा बनेको छ । ‘विस्तारै रात प¥यो, बिरानो ठाउँमा हुस्सुले पूरै घेरो लगायो । आजलाई उद्धार समय सकियो । दिनभरको ऊर्जा र आशा फेरि निराशामै सकियो,’ उनले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेका छन् ।
उद्धारका लागि नेपाली सेना परियोजनास्थल आसपासमै छ । तर, लेदोसहितको बाढीका कारण परियोजनास्थलको सुरुङसम्म पुगेर उद्धार गर्न सकेका छैनन् । सशस्त्र प्रहरी पनि धुञ्चेमा छ । तर, उनीहरूसँग उद्धारका लागि हेलिकप्टर छैन । एक सशस्त्र प्रहरी अधिकृतका अनुसार हेलिकप्टर उपलब्ध भएको भए आफ्नो उद्धार अनुभव प्रयोग गरेर सुरुङसम्म पुग्ने प्रयास गरिने थियो । उद्धारमा सबैभन्दा ठूलो समस्या भने लेदोसहितको बाढी बनेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद रेग्मीका अनुसार सुरुङ क्षेत्रमा जमेको लेदोका कारण उद्धार प्रभावित भएको छ ।
सेनाले उद्धार प्रयास नै नगरेको भने होइन । प्रयास भइरहेको छ । तर, सफल हुन सकेको छैन । सुरुङभित्र फसेको चार दिन भइसक्दा पनि उद्धार नहुँदा उनीहरू सकुशल छन् किन छैनन् ? प्रश्न उठेको छ । यद्यपि, आफन्तहरूले अझै आशा मारेका छैनन् ।
हेलिकप्टर आकाशमा देख्दा आशा
बट्टार बजारको आकाशमा हेलिकप्टर देखिनासाथ मानिसहरू नेपाली सेनाको मैथिली ब्यारेकतिर दौडिन्छन् । उनीहरूलाई लाग्छ– ‘सम्पर्कविहीन मेरो मान्छे पो आयो कि !’ रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि आफन्त बेपत्ता भएका परिवारका लागि हेलिकप्टर अहिले आशाको प्रतीक बनेको छ । तर, हेलिकप्टर ओर्लिएपछि त्यही आशा निराशामा बदलिन्छ ।
उद्धार गरिएका मानिसहरू बाहिरिन्छन् । कोही स्ट्रेचरमा हुन्छन् । भीडले एक–एक अनुहार नियाल्छ । तर, खोजेको आफन्त देखिँदैन । त्यसपछि मानिसहरू फेरि सडक किनारमा फर्किन्छन् र अर्को हेलिकप्टरको प्रतीक्षा गर्न थाल्छन् । यही भीडमा शुक्रबार देखिइन्– सविता अधिकारी । उनका श्रीमान् त्रिशूली हाइड्रोमा काम गर्थे । बाढी आएपछि उनी सम्पर्कविहीन छन् ।
उनले भनिन्, ‘हेलिकप्टर आउँदा मेरो श्रीमान्लाई ल्याए कि भन्ने लाग्छ र हेर्छु । अहिलेसम्म ल्याएको छैन ।’ उद्धार गरिएका मानिसहरू ब्यारेकबाट बाहिरिँदा उनका आँखाहरू श्रीमान्को अनुहार खोज्छन् । तर, हरेकपटक निराशामात्रै हात लाग्छ । ‘खै, के पो भयो होला ?’ उनले गहभरि आँसु पार्दै भनिन् ।
सविताले श्रीमान् त्रिशूली हाइड्रोको टनेलभित्र छिरेको हुनसक्ने सुनेकी छन् । सेना उद्धारका लागि त्यहाँ पुगेको खबरले उनको आशा अझै मरेको छैन । तर, लेदोले टनेल पुरिएको खबरले उनी उत्तिकै डराएकी छन् । सविताकै नजिक ७४ वर्षीय पदमबहादुर कँडेल पनि देखिए । उनका जेठी सासुका छोरा खलप्रसाद तिमिल्सिना बाढीमा बेपत्ता छन् । ‘हेलिकप्टर दुई–दुई मिनेटमा आइरहन्छ, तर मेरो मान्छे आउँदैन, यो उमेरमा आएर यस्तो के देख्नुप¥यो !,’ उनले भने । बाढीपछि बट्टार बजार अहिले आफन्त खोज्नेहरूको प्रतीक्षास्थल बनेको छ ।
धुवाँको मुस्लोजस्तो बाढी घरतर्फ सोझिएपछि...
नुवाकोटको त्रिशूली नदी किनारको ढुंगे बजारकी मीना श्रेष्ठ लामा घरबाहिर थिइन् । नजिकै हेलिकप्टर आएजस्तो ठूलो आवाज सुनिन् । आकाशमा हेर्दा देखिनन् । त्रिशूली नदीको शिरतिर हेर्दा त कालो धुवाँको मुस्लोजस्तै देखिने भीषण बाढी उर्लिरहेको देखिन् ।
केही क्षणमै भीषण बाढी बस्ती र घरतर्फ सोझियो । आँखै अगाडि आएको विपत्ति देखेपछि मीना श्रीमान्लाई बोलाउन घरभित्र दौडिइन् । तर, त्यहाँ पुग्दा श्रीमान्को आधा शरीर हिलोमा पुरिइसकेको थियो । बाढीसँगै आएको हिलोले घरको भुइँ छोपिसकेको थियो ।
मीनाले छरछिमेकलाई गुहारिन् । छिमेकीहरूको सहयोगमा बल्लतल्ल श्रीमान्लाई हिलोबाट निकालियो । त्यसपछि उनीहरू दुवै जना ज्यान जोगाउन भागे । भाग्दै गर्दा मीनाको नजर केही तल पर्ने पारिपट्टिको खेतमा पुग्यो । त्यहाँ महिला र पुरुष गरी सात–आठ जना धान खेतमा झार उखेलिरहेका थिए । उनीहरूलाई बाढी आउँदै छ भन्ने थाहा थिएन । मीनाले भनिन्, ‘केही क्षणमै त्रिशूलीको भेल खेतमा पस्यो र उनीहरूलाई स्वाट्टै बगाएर लग्यो । विचराहरू भाग्नै पाएनन् ।’
तर, बाढीको त्रासदी त्यतिमै रोकिएन ।
नुवाकोटकै देवीघाटस्थित वृद्धाश्रमको भुइँतला बाढीसँगै आएको हिलोले झ्याप्पै पुरियो । त्यहाँ रहेका सात जना वृद्धा आमामध्ये छ जनाले ज्यान गुमाए । एक जना मिङ्मा लामा भने मुखदेखि तलसम्म हिलोमा पुरिएको अवस्थामा जीवितै भेटिइन् । उद्धारपछि उनलाई नुवाकोट सदरमुकाम विदुरस्थित जिल्ला आयुर्वेद अस्पतालमा उपचारका लागि लगियो ।
बाढीले मानिसलाई घाइतेमात्रै बनाएको थिएन, उपचार गर्ने ठाउँलाई समेत संकटमा पारेको थियो । अस्पतालमा आपत्कालीन स्वास्थ्य सेवाका लागि खटिएका सशस्त्र प्रहरीका डिएसपी डा. सन्तोष खत्रीका अनुसार अक्सिजनको अभाव छ । गुड्ने खालका १५ शय्यासमेत अभाव छ ।