काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बाढीलाई आवश्यकताअनुसार राष्ट्रिय विपद् घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले बाढीबाट हजारौँ नागरिक बेपत्ता भएको सूचना आएको र जलविद्युत् आयोजना, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार तथा पुलपुलेसामा ठूलो क्षति पुगेको बताए। उनले क्षतिको वास्तविक विवरण अझै पूर्ण रूपमा प्राप्त नभएको भन्दै अवस्था कल्पनाभन्दा बाहिरको रहेको बताए।
मुख्य सचेतक बुर्लाकोटीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी पश्चिमलगायतका क्षेत्रमा बाढीको प्रभाव परेको जानकारी दिँदै प्रभावित क्षेत्रमा तत्काल उद्धार र स्वास्थ्य सेवा पुर्याउन सरकारलाई आग्रह गरे।
गोरखाबाट गोसाइँकुण्ड यात्रामा गएका दुई माइक्रोबस र एक बसमध्ये ३६ जना सवार एउटा बस बाढीमा परेको सूचना प्राप्त भएको र त्यसमा मानवीय क्षति भएको जानकारी आफूले पाएको उनले बताए। दोलखाबाट रसुवामा काम गर्न गएका नागरिकसमेत विपद्मा परेको सूचना प्राप्त भएको उनकाे भनाइ थियो।
उनले प्रभावित क्षेत्रका सांसदहरू उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी हुने विषयमा छलफल भइरहेको जानकारी दिँदै सरकार, राजनीतिक दल, सरकारी निकाय, सङ्घसंस्था तथा पूर्वसैनिक र पूर्वप्रहरीसहित सबै पक्षलाई उद्धार तथा राहतमा परिचालन गर्न आग्रह गरे।
बुर्लाकोटीले राष्ट्रिय विपद् कोष सञ्चालन गर्न तथा आवश्यकता र औचित्यका आधारमा राष्ट्रिय विपद् घोषणा गर्नसमेत सरकारसँग माग गरे। साथै, विषम परिस्थितिमा मित्रराष्ट्रको सहयोगसमेत लिएर दीर्घकालीन विपद् व्यवस्थापन रणनीति बनाउनुपर्ने उनको भनाइ थियो। प्रतिनिधिसभाको बैठकमा आकस्मिक बैठक जारी छ।