- सभापति थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन
काठमाडौं- सर्वोच्च अदालतमा पार्टी आधिकारिकताको मुद्दा विचराधीन रहेकै अवस्थामा नेपाली कांग्रेसले १५औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार साँझ कांग्रेस केन्द्रीय निर्वाचन समितिले यो कार्यतालिका सार्वजनिक गरेको हो ।
महाधिवेशन रोक्नका लागि कुनै समय नभएको सभापति गगन थापाले बताए । ‘हामीसँग अब समयको सुविधा छैन, हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको पनि बाँधिएका छौं । अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ । त्यसले पनि हामीहरू बाँधिएका छौं । थोरै समयमा काम गर्नुपर्ने छ,’ सभापति थापाले मंगलबार केन्द्रीय कार्यालय सनेपामा भने ।

हामीसँग अब समयको सुविधा छैन, हामी संविधान, पार्टी विधान, विशेष महाधिवेशनले गरेको र अदालतले गरेको पनि बाँधिएका छौं । अदालतको फैसलामा पनि असोज १६ गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ । त्यसले पनि हामीहरू बाँधिएका छौं । थोरै समयमा काम गर्नुपर्ने छ ।
गगन थापा
सभापति, नेपाली कांग्रेस
आधिकारिता विवादमा सर्वोच्चले वैशाख ४ गते निर्वाचन आयोगकै निर्णयलाई सदर गर्दा गगन सभापति बनेका थिए । त्यसपछि संस्थापनइतरले सानेपा छाडेसँगै पुनरवलोकनका लागि सर्वोच्चमा साउन २२ गते निवेदन दिएको थियो । उक्त फैसलाको पुनरवलोकन कहिले हुन्छ भन्ने विषयमा कुनै निर्णय आइसकेको छैन ।
यता साउन २६ गते पूर्वसभापति शेरबहादुर देउवापक्षले पार्टीको १५औं महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाएका थिए । पार्टी एकताका लागि पर्खेको देउवा पक्षले सुकेधारामा भेला आयोजना गरी नयाँ दल खोल्ने तयारी गरेको थियो । तर अदालतको निस्साको कारण इतरपक्ष तत्काल दल खोल्ने विषयबाट पछाडि हटेको छ । यही अवस्थामा इतरको मागमा कुनै सम्बोधन नगरी कांग्रेसले महाधिवेशनको तयारी थालेको हो ।
कांग्रेसका लागि विधानतः मंसिरसम्ममा महाधिवेशन गरिसक्नुपर्ने बाध्यकारी अवस्था रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । ‘महाधिवेशन तोकिएको मितिमै गर्नुपर्ने बाध्यकारी छ । नेपालको संविधान र पार्टीको विधान हेरे पनि मंसिर मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने ।
कांग्रेस १५औं महाधिवेशनको यस्तो छ कार्यतालिका
असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुनेगरी तोकिएको महाधिवेशन भदौ २४ बाट सुरु हुने कार्यतालिका सार्वजनिक भएको छ । यसअघि भदौ २ बाट वडा अधिवेशन सुरु गर्ने भनिए पनि पूर्वसभापति शेरबहादुर देउवा समूहलाई समेट्न अधिवेशन २२ दिन ढिलागरी सुरु गर्न लागेको कांग्रेसले जनाएको छ ।

महाधिवेशन तोकिएको मितिमै गर्नुपर्ने बाध्यकारी छ । नेपालको संविधान र पार्टीको विधान हेरे पनि मंसिर मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ ।
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस
साउन २४ देखि भदौ १ गतेसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए । यसका लागि कांग्रेसले जिल्ला निर्वाचन अधिकृतहरुलाई अभिमुखीकरण कार्यक्रमसमेत सुरु गरेको छ । भदौ १० सम्म चल्ने अभिमुखीकरण तालिमलाई मंगलबार सभापति थापाले सम्बोधनसमेत गरेका थिए । योसँगै निर्वाचन प्रतिनिधिलाई भदौ ११ गते जिल्ला खटाउने, वडामा भदौ १५ गते खटाउने कार्यतलिकामा उल्लेख छ ।
यसैगरी भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम प्रदान गर्ने कार्यतालिका रहेको छ । कांग्रेसले भदौ मसान्तभित्र सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिको अधिवेशन गर्ने जनाएको छ । नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरियालगायत १५ वटा देशका अधिवेशन सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ ।
निर्वाचन कार्यतालिका
कांग्रेसले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार भदौ २४ गते गाउँ÷नगर वडा अधिवेशन, भदौ २७ गते गाउँ/नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिने छ । यसैगरी असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन, महाधिवेशन प्रतिनिधि चयन, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन तोकिएको छ । केन्द्रीय महाधिवेशनको मिति असोज १६ देखि १९ गते तय गरिएको कार्यतालिकामा उल्लेख छ ।
सभापति थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन
कांग्रेसले महाधिवेशनका लागि पार्टी सभापति थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको छ । असोज १६ बाट काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि सभापति थापाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको हो ।
समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायतका विषय हेर्न आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने छ । महाधिवेशनमा पार्टी सभापति . थापाले ‘आगामी दशकः लोकतन्त्र र कांग्रेस’ विषयलाई केन्द्रमा राखेर मुख्य राजनीतिक प्रस्ताव पेस गर्ने छन् । त्यसैगरी, उपसभापति विश्वप्रकाश शर्माले ‘राजनीतिक संस्कृतिमा आएका क्षय र योगदानको रूपान्तरणसम्बन्धी’ प्रस्ताव, अर्का उपसभापति पुष्पा भुसालले ‘निर्वाचनसम्बन्धी विशेष प्रस्ताव’ तथा महामन्त्री गुरुराज घिमिरेले ‘संगठनसम्बन्धी प्रस्ताव’ पेस गर्ने छन् ।
महाधिवेशन प्रचारप्रसार समितिको जिम्मेवारी प्रवक्ता देवराज चालिसेलाई दिइएको छ । पार्टीको विधानलाई समयसापेक्ष र प्रभावकारी बनाउन महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरिएको छ, जसले विभिन्न तह र निकायसँग संवाद तथा सुझाव लिएर विधान संशोधनको मस्यौदा तयार गरी केन्द्रीय समितिमा पेस गर्ने छ ।
बैठकले महाधिवेशन निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि विधानको धारा ३५(२)(घ) अन्तर्गत रहेको ‘छ महिना अगाडि’ भन्ने प्रावधान वर्तमान परिस्थितिमा सान्दर्भिक नभएकाले सो व्यवस्थालाई निलम्बन गर्ने निर्णयसमेत गरेको छ ।
सर्वोच्चको निर्णय नपर्खने
कांग्रेस विवादका कारण सर्वोच्च अदालतले वैशाख ४ मा दिएको आधिकारितासम्बन्धी आफ्नै निर्णय पुनरवलोकन गर्ने भएको छ । तर यो फैसला कहिले आउने हो टुंगो छैन । कांग्रेसले अदालतको फैसला आउनुअघि नै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । कतै यो कार्यतालिका अदालतको निर्णय पर्खंदा प्रभावित हुने हो कि ? भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशन असोजभित्र गरिसक्नुपर्ने बाध्यकारी अवस्था रहेको बताए ।
‘लाखौं कार्यकर्ता जोडिएको संस्थालाई न्यायिक निरुपणको नाममा अनिर्णयको बन्दी बनाउनु लोकतान्त्रिक अभ्यासविपरीत हुन्छ । पार्टीको विधान र यसको सर्वोच्चताको रक्षा गर्ने काम स्वयं पार्टीको हो,’ चालिसेले भने, ‘हाम्रो पाँच वर्षको वैधानिक समयसीमा मंसिरमा सकिन्छ । त्यो भन्दा अगावै महाधिवेशन सम्पन्न गर्नु हाम्रो राजनीतिक र कानुनी जिम्मेवारी हो ।’
पार्टीभित्रको आन्तरिक झगडाबारे टिप्पणी गर्दै चालिसेले कांग्रेसभित्र कुनै नीतिगत वा सैद्धान्तिक विवाद नरहेको दाबी गरे । ‘बिपी कोइरालाको विचार र पार्टीको नीतिमा कसैको पनि विमति छैन,’ उनले भने, ‘पार्टीभित्र देखिएको कुरा विवाद होइन, यो केवल पद र अवसरका लागि गरिएको असन्तुष्टिमात्र हो । असन्तुष्टिलाई लोकतन्त्रको सुन्दर पक्ष मान्न सकिन्छ, तर यसैलाई आधार बनाएर महाधिवेशन रोक्न सम्भव छैन ।’