काठमाडौं- नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति निर्वाचन सम्पन्न भएको छ। काठमाडौंको होटल सोल्टी, ताहाचलमा सम्पन्न निर्वाचनबाट भरतजंग पाण्डेको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो।
निर्वाचनमा पाण्डेले १८८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन्। अध्यक्षका प्रत्याशी युविका भण्डारीले १५८ र निवर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। निर्वाचनमा कुल ४५३ मत खसेको थियो। पदाधिकारीतर्फ वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा २५१ मतसहित निर्वाचित भए। उपाध्यक्षमा सविता केसी भट्टराई १७७, महासचिवमा राजकुमार देवकोटा १५८, सचिवमा रमेश पराजुली १९५, कोषाध्यक्षमा दीकी शेर्पा २०८ र सह–कोषाध्यक्षमा जीवन कोइराला १६६ मतसहित निर्वाचित भएका हुन्।
कार्यसमिति सदस्यतर्फ स्मारिका थापा, प्रकाशनी, नवीन गुरुङ, दिनेश मैनाली, सुमनलाल श्रेष्ठ, स्वस्तिका प्रधान, संकेत दाहाल र विभाष पौडेल निर्वाचित भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनीयताको शपथ गराएको थियो।
यसअघि सम्पन्न उद्घाटन समारोहमा नाट्टाका अध्यक्ष तथा साधारण सभाका सभापति कुमारमणि थपलियाले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले विदेशी मुद्रा, हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट), टिकट बिक्रीमा देखिएको कार्टेलिङलगायत पर्यटन व्यवसायका समस्यामा सरकारको ध्यानाकर्षण गराए।
साधारण सभाका अवसरमा नाट्टाले आफ्नो दुई वर्षे कार्यकालका गतिविधि समेटिएको ‘नाट्टा जर्नी २०२४-२०२६’ पुस्तक विमोचन गरेको थियो। महासचिव युविका भण्डारीले कार्यसमितिले गरेका गतिविधिबारे भिडियो प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा पर्यटनसँग सम्बन्धित विभिन्न नौ संघ–संस्थालाई कृतज्ञता पत्र प्रदान गरिएको थियो। नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानका उत्कृष्ट विद्यार्थीलाई रु. ५० हजार राशिसहितको ‘खगेन्द्रराज मेमोरियल ट्राभल एण्ड टुरिजम अवार्ड’ प्रदान गरिएको थियो। त्यस्तै, नाट्टा बाँके च्याप्टरको अगुवाइ तथा श्री एयरलाइन्सको सहकार्यमा सुरु गरिएको ‘कैलाश दर्शन बाई फ्लाइट’ पर्यटन उत्पादनमा योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान गरिएको थियो।
नाट्टाको सदस्यता प्राप्त गरेको २५ वर्ष पूरा गरेका ११ कम्पनीलाई ‘रजत जयन्ती सम्मान’ प्रदान गरिएको थियो। पर्यटन पत्रकारितामार्फत पर्यटन क्षेत्रका समस्या तथा प्रवर्द्धनका विषयमा समाचार सम्प्रेषण गर्ने तीन सञ्चारकर्मीलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो। निवर्तमान अध्यक्ष रमेश थापालाई दोसल्ला ओढाएर विशेष बिदाइ गरिएको थियो।
कार्यक्रममा होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पर्यटन विकासका लागि निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।उनहरूले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र सकारात्मक सम्बन्ध कायम हुनुपर्ने धारणा राखे।
प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संघीय संसदका सभामुख डोलप्रसाद अर्यालले नेपालको पर्यटन विकास तथा पुनरुत्थानका लागि प्रभावकारी नेतृत्व र स्पष्ट लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए। “हामीले आँकडालाई भन्दा पनि लक्ष्यलाई हेरेर काम गर्नुपर्छ,” उनले भने।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गणेश’ले पर्यटन नेपालको अर्थतन्त्र उकास्ने प्रमुख आधार भएको बताउँदै पर्यटनसम्बन्धी नीति तथा कानुन निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे। प्रस्तावित पर्यटन ऐनमा रहेका त्रुटि सच्याउँदै पुनर्लेखनका लागि आवश्यक गृहकार्य भइरहेको उनले जानकारी दिए।
नेपालको हवाई क्षेत्रलाई युरोपेली मापदण्डको कालोसूचीबाट हटाउन आवश्यक काम भइरहेको जानकारी दिँदै मन्त्री पौडेलले नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना, राष्ट्रिय ध्वजावाहकको सबलीकरण तथा विमानस्थलहरूको प्रभावकारी सञ्चालनमा जोड दिए। तयार भइसकेका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सञ्चालनमा ल्याउने र त्यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउने सरकारको योजना रहेको उनले बताए।
बन्दसत्रमा अघिल्लो वार्षिक साधारण सभापछि नाट्टाले गरेका गतिविधि, लेखापरीक्षण प्रतिवेदनलगायत विभिन्न एजेन्डामाथि छलफल गरी पारित गरिएको थियो। निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेले आफू व्यक्तिगत स्वार्थभन्दा संस्थाको हित र नाट्टाको संस्थागत विकासलाई केन्द्रमा राखेर निर्वाचनमा सहभागी भएको बताए। उनले नयाँ कार्यदिशासहित नाट्टालाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सबै सदस्यको सहयोग र सहकार्यको अपेक्षा गरे।