- देउवालाई पार्टीमा यसअघि संस्थापनइतरको गुट चलाइरहेका डा शेखर कोइरालाको समेत साथ रहेको छ
- काठमाडौं आइपुग्नसाथ देउवाले आफूलाई अन्तरराष्ट्रिय समर्थन रहेको दाबी गरेका छन्
- यो बीचमा देउवाले हङकङ छँदा नै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग पटकपटक भर्चुअल कुराकानी गरेको बुझिएको छ
काठमाडौं- थप उपचारका लागि फागुन १३ गते सिंगापुर पुगेका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा काठमाडौं आइपुग्दा निर्धक्क देखिएका छन् । जेन-जी विद्रोहका क्रममा भदौ २३ गते आफ्नै निवास बुढानिलकण्ठमा कुटिएका देउवा बिहीबार काठमाडौं उत्रँदा निर्धक्क देखिएका हुन् ।
त्रिभुवन विमानस्थलमा आफूपक्षीय नेताहरुको स्वागतपछि देउवाको ‘रोड शो’ चल्यो । खासै प्रचार मन नपराउने नेता देउवा यसपटक भने खुसीसाथ रोड शोमा सहभागी भए । बाजागाजासहितको रोड शो पछि देउवा आफ्नो निवास चुनदेवीतिर लागेका थिए । चुनदेवीमा संस्थापनइतरको सम्पर्क कार्यालय पुगेपछि स्वागतका लागि पुगेका नेता कार्यकर्ताले उनको भाषण सुन्न चाहे । उक्त कार्यालयमा देउवालाई कांग्रेसको सभापतिको रुपमा एउटा कोठा बनिसकेको थियो । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाविरुद्ध देउवाको अभिव्यक्ति आउने चाहना इतर पक्षको थियो ।
उक्त कक्षामा पुग्नुअघि नै देउवाले कार्याकर्ताले अपेक्षित गरेअनुसारकै सम्बोधन गरे । सम्बोधनमा देउवा कड्किएका थिए । देउवाले आफूलाई अन्तरराष्ट्रियदेखि जनता र सर्वोच्च अदालतको साथ रहेको दाबी गरे । ‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो । यहीँ (नेपाल) मा पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भने, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो । तैपनि बदमासी ग¥यो ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले देउवा दम्पत्तीमाथि अनुसन्धान जारी राखेको छ । देउवाले आफूले कुनै बदमासी नगरेको दाबीसमेत गरे । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एक पटक आयो, केही छैन भन्यो । दोस्रो पटक आयो केही छैन भन्यो । उसलाई निकालिदियो । यतिसम्म बदमासीपूर्ण काम गरेको छ,’ देउवाले गुनासो गरे ।
देउवाले आफूलाई असजिलोमा पार्न पूर्वराजा ज्ञानेन्द्र शाहले त केही गर्न नसकेको भन्दै अरूले सक्छ भनेर प्रश्न गरेका थिए । आफूले जनतालाई मालिक ठानेकोले कसैले केही गर्न नसक्ने देउवाको भनाइ थियो । ‘यो देशमा जनता छ । यो देशमा अदालत छ । सबैले जानेबुझेको छ । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?,’ देउवाले कड्किए ।
जनताल चाहेर नै गणतन्त्र आएको उल्लेख गर्दै देउवाले आफूले चाहेर केही नहुने बताए । ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र। मैले मात्रै चाहेर ल्याएको हो ? संविधानसभाले ल्याएको हो गणतन्त्र । मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन । नेपाली जनता सबैभन्दा ठूलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ,’ देउवाले भने । देउवा नेपाल आइपुग्नसाथ उनको सचिवालये आफू नेता हैन नागरिक बनेर फर्किएका वक्तव्य जारी गरेको थियो ।
देउवाको आगमनमा गगनको स्वागत
कांग्रेस सभापति गगन थापाले देउवा स्वदेश फर्केकोमा स्वागत गरेका छन् । केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै थापाले देउवालाई पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरे । गगनको उक्त प्रस्ताव केन्द्रीय कार्यसमितिको निर्णयमासमेत लेखिएको छ । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनु भएकोमा हार्दिक स्वागत गर्दछ । यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ,’ कांग्रेस केन्द्रीय समितिको निर्णयमा भनिएको छ ।
कांग्रेसले देउवाको अभिभावकीय भूमिका खोजेकोसमेत जनाएको छ । ‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ ।
क-कसको साथ ?
कांग्रेस सभापति देउवा आजबाट शुरु हुने संस्थापनइतरको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आइपुगेका हुन् । काठमाडौं आइपुग्नसाथ देउवाले आफूलाई अन्तरराष्ट्रिय समर्थन रहेको दाबी गरेका छन् । यो बीचमा देउवाले हङकङबाट एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग पटकपटक भर्चुअल कुराकानी गरेको बुझिएको छ । ओली र दाहालले देउवालाई साथ दिने वचनसमेत दिएको अनौपचारिक छलफलहरुमा दुबै नेताले बताउने गरेका छन् ।
जेन-जी आन्दोलनका कारण ओलीसँग भएको आलोपालो सरकार सञ्चालनको तमसुक खारेज भएसँगै अप्ठ्यारोमा परेका देउवामाथि पार्टीभित्रैबाट अर्को बज्रपात आइलागेको थियो । कांग्रेसका तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसको अन्तिमतिर विशेष महाधिवेशन बोलाएर पार्टी कब्जा गरेपछि देउवा राजनीतिक किनारामा धकेलिएका थिए ।
यस्तो अवस्थामा देउवा संस्थापनइतरको आडमा काठमाडौं उत्रिएका हुन् । देउवालाई पार्टीमा यसअघि संस्थापनइतरको गुट चलाइरहेका डा शेखर कोइरालाको समेत साथ रहेको छ । केही हप्ताअघिमात्र सुटुक्क भारत पुगेका कोइराला अहिले कांग्रेस एकताका लागि दौडधुपमा छन् । शेखर आज हुने सभामासमेत देउवासँगै देखिनेछन् । शेखरले भारत भ्रमणको क्रममा प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासँगसमेत भेटेको बताइएको छ ।
योसँगै अदालतकोसमेत साथ पाउने देखेपछि देउवा निर्धक्कसाथ कमब्याक भएको स्रोतको दाबी छ । देउवाले डा शेखरलाई नेतृत्व दिने गरी आफू अघि बढ्ने वचन दिएको उक्त स्रोतको दाबी छ । काठमाडौं ओर्लनसाथ जारी विज्ञप्तिमा पनि देउवाले आफू अब नेता हैन नागरिक बन्ने बताएका छन् । पछिल्लो परिस्थिति बनेसँगै कांग्रेस सभापति गगनविरुद्ध मोर्चाबन्दीसमेत शुरु भएको छ । उक्त मेसो पाएर गगन मंगलबारमात्र शेखर भेट्न विशालनगर पुगेका थिए । उक्त भेटमा गगनले पार्टी एकतामा साथ दिन शेखरसँग आग्रह गरेका थिए ।