ढाका- बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरलाई आगामी राष्ट्रपति निर्वाचनका लागि पार्टीको उम्मेदवार चयन गरेको छ । उम्मेदवार बनेलगत्तै आलमगीरले पार्टी महासचिव तथा राष्ट्रिय स्थायी समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।
बीएनपीका वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले प्रधानमन्त्री कार्यालयअगाडि रहेको पार्टी सचिवालयमा बिहीबार राष्ट्रिय स्थायी समितिको बैठकपछि पत्रकार सम्मेलनमार्फत आलमगीरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा पार्टीका संयुक्त महासचिवसहित राष्ट्रिय स्थायी समितिका अन्य नेताहरूको उपस्थिति थियो ।
रिजवीले आलमगीर पार्टीको राष्ट्रपतीय उम्मेदवार बन्नुभएको घोषणा गर्दै उक्त निर्णय पार्टीका अध्यक्ष तथा बंगलादेश सरकारका प्रधानमन्त्रीसँग भएको बैठकमा यसअघि नै गरिएको जानकारी दिए । उनले आलमगीरले उम्मेदवारका रूपमा अघि बढ्न पार्टी महासचिव र राष्ट्रिय स्थायी समितिको सदस्य पदबाट राजीनामा दिएकाे पनि पुष्टि गरे ।
बंगलादेशमा पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले गम्भीर स्वास्थ्य समस्या देखाउँदै गत महिना पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनको प्रक्रिया अघि बढेको हो । साहाबुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । छयत्तर वर्षीय साहाबुद्दिनले गत जुलाई २४ मा बंगलादेशको राष्ट्रिय संसद्का अध्यक्षसमक्ष हस्ताक्षर गरिएको राजीनामा पत्र बुझाएका थिए । अध्यक्ष मेजर (सेवानिवृत्त) हाफिज उद्दीन अहमदले सोही दिन राजीनामा स्वीकार गरिएको पुष्टि गरेका थिए ।
राष्ट्रिय संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अहमदले संविधानको धारा ५४ अनुसार नयाँ निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म आफूले अध्यक्षका रूपमा राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेको बताएका थिए । साहाबुद्दिनले सन् २०२३ अप्रिल २४ मा बंगलादेशको २२औँ राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेका थिए । उनी तत्कालीन सत्तारूढ अवामी लिगका उम्मेदवारका रूपमा निर्विरोध निर्वाचित भएका थिए । उनको पाँचवर्षे कार्यकाल सन् २०२८ अप्रिलमा पूरा हुने थियो ।
बंगलादेशको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएमा नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म संसद्का अध्यक्षले राज्यको अन्तरिम प्रमुखका रूपमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । अब राष्ट्रिय संसद्ले राष्ट्रपतिको पद रिक्त भएको मितिदेखि ९० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बीएनपीले आलमगीरलाई उम्मेदवार बनाएसँगै आगामी राष्ट्रपति निर्वाचनका लागि राजनीतिक प्रक्रिया अघि बढेको छ ।