- हङकङबाट नेपाल फर्कन लागेका देउवा सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने
- संस्थापनइतरको राष्ट्रिय भेलामा प्रमुख अतिथिका रुपमा सहभागी हुन स्वदेश फर्कंदै
- विमानस्थलमा बाजागाजासहित स्वागत गर्ने कांग्रेस संस्थापनइतरको तयारी
- देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान जारी रहेकोले विमानस्थलमा ओर्लिनेबित्तिकै पक्राउ पर्नसक्ने आशंका
- पूर्वसभापति देउवामाथि प्रहरीले धरपकड गरे प्रतिवादमा उत्रने कांग्रेस नेता डा. शशांक कोइरालाको चेतावनी
- देउवालाई पक्रने कि नपक्रने ? उत्पन्न हुनसक्ने परिस्थितिलगायतका बारेमा विश्लेषण गर्दै प्रहरी
- देउवा दम्पती र छोरा जयवीरविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी गरिएको भए पनि देउवालाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- जेन-जी आन्दोलनका क्रममा निवासमै कुटिएका देउवा दम्पती उपचारका लागि गत कात्तिक १० गते सिंगापुर गएका थिए
काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज दिउँसो काठमाडौंमा ओर्लने कार्यक्रम तय भएको छ । कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
देउवालाई कांग्रेस संस्थापनइतरले भव्य स्वागतको तयारी गरेको छ । ‘देउवा दाइ सवा १२ बजे आइपुग्ने कार्यक्रम छ । उहाँलाई स्वागत गर्न हामी दिउँसो १२ बजेअघि नै विमानस्थल पुग्छौ,’ नेता विश्वकर्माले भने । देउवालाई विमास्थलमा बाजागाजासहित स्वागत गरिने उनले बताए । कांग्रेस विवादपछि संस्थापनइतरले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बन्न देउवा हङकङबाट नेपाल आउन लागेका हुन् ।
जेन-जी विद्रोहका क्रममा बूढानीलकण्ठस्थित घरमै कुटिएका देउवा उपचारका लागि गत कात्तिक १० गते सिंगापुर गएका थिए । त्यहाँबाट देउवा हङकङ गएका थिए । पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि हिँडेका देउवाले बाहिर छँदै आफ्नो सभापति पद गुमाएका थिए ।
विशेष महाधिवेशन पक्षधरले पुसको अन्तिममा विशेष महाधिवेशन गरी गगन थापालाई सभापति बनाएसँगै उनको सर्वोच्च पद गुमेको थियो । पछिल्लो दिन भने सर्वोच्च अदालतले कांग्रेस आधिकारिकताको मुद्दा बल्झाएसँगै देउवा स्वदेश फर्कन लागेको बताइएको छ । यसअघि साउन २६ गते राति फर्कने घोषणा गरे पनि स्वागतका लागि असहज हुने भन्दै आज दिउँसो काठमाडौं उर्लनेगरी उडान तय गरिएको थियो ।
देउवालाई संस्थापनइतर पक्षले प्रमुख अतिथिको रुपमा निमन्त्रण गरेको हो । देउवा स्वदेश फर्किने भएपछि प्रहरी भने ‘अलर्ट’मा बसेको छ । देउवा दम्पतीविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको छ । सरकारले देउवा र आरजु राणा देउवासँगै उनीहरुका छोरा जयवीर देउवाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो । त्यसो त देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिइसकेको छ । यद्यपि प्रहरीले सोही मुद्दा भने हेरिरहेको जनाएको छ । सर्वोच्चले आदेश दिए पनि अनुसन्धान जारी रहेको प्रहरी स्रोतको दाबी छ ।
डिआइजी अविनारायण काफ्लेका अनुसार अहिले यसै भन्न सकिने अवस्था छैन । देउवालाई ओर्लिनेबित्तिकै समाउने कि नसमाउने, उत्पन्न हुनसक्ने परिस्थितिलगायतका बारेमा प्रहरीले विभिन्न निकायसँग परामर्श गरिरहेको उनले बताए । सर्वोच्चले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतमा रहेको भन्दै अध्यादेश जारी हुनुपूर्व काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ मा जारी पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने ठहर गरेको थियो ।
देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न प्रहरीले थप कागजात पठाउने तयारी भइरहँदा सर्वोच्चको यो आदेश आएको थियो । देउवालाई सरकारले धरपकड गरे आफूहरु प्रतिवादमा उत्रने कांग्रेस नेता डा. शशांक कोइरालाले बताएका छन् । ‘यदि धरपकड गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने छ,’ कोइरालाले भने ।
देउवापक्षको राष्ट्रिय भेला मिराकलमा
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेला भोलि शुक्रबारदेखि सुरु हुँदै छ । भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । तीन दिनसम्म चल्ने भेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माका अनुसार कार्यक्रमको नेतृत्व आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले गर्ने छन् । पूर्वसभापति देउवालाई भेलाको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ भने उनले शुक्रबार दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्ने छन् ।
उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेताहरूले धारणा राख्ने कार्यक्रम तय भएको छ । त्यसपछि शनिबार र आइतबार दुई दिन बन्दसत्र सञ्चालन हुने छ । आयोजकका अनुसार भेलामा करिब चार हजार ६०० नेता तथा कार्यकर्ताको सहभागिता अपेक्षित छ । सहभागीको संख्या बढेर पाँच हजारभन्दा बढी पुग्नसक्ने अनुमानसमेत गरिएको छ । ‘कार्यक्रममा १४औं महाविधेशनका केन्द्रीय कार्यसमिति, प्रदेश तथा जिल्ला समितिका पदाधिकारी, पूर्वमन्त्री, पूर्वसांसदहरुलाई निमन्त्रण गरिएको छ,’ विश्वकर्माले भने ।
भेलामा छलफलका लागि प्रस्तुत गरिने प्रतिवेदनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । आयोजकका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिएर सार्वजनिक सञ्चारमाध्यमका लागि उपलब्ध गराउने तयारी भइरहेको छ । पार्टीभित्रको पछिल्लो राजनीतिक तथा संगठनात्मक अवस्थाबारे धारणा आदानप्रदान र आगामी रणनीतिमाथि छलफल गर्ने उद्देश्यले देउवापक्षले भेला आयोजना गर्न लागेको हो ।