- विराटनगर भनेर गएका शेखर अघिल्लो हप्ता स्थलमार्गबाट भारत पुगेको स्रोतको दाबी
- कांग्रेस एकता, पार्टीको नेतृत्वकोबारे भारतीयपक्षका उच्चस्तरका नेताहरुसँग भेटवार्ता
- भारतबाट फर्किएपछि मंगलबार बिहान सभापति गगन थापासँग सुटुक्क भेटवार्ता
- देउवापक्षको राष्ट्रिय भेलामा शेखर सहभागी हुने
- दुई गुटको टकरावकाबीच मध्यमार्गी योजना बुन्दै शेखर
काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला आयोजनाका लागि डा. शेखर कोइरालालाई संयोजक तोक्ने तयारी गरेको थियो । देउवापक्षले वैकल्पिक शक्ति बनाउने तयारी गरेपछि उनलाई नेतृत्व दिने तयारीसमेत अगाडि बढेको थियो । तर एकाएक साउन १६ गते राष्ट्रिय भेलाको संयोजकको जिम्मेवारी डा. शशांक कोइरालाले पाए । शशांकलाई संयोजक तोकेको कार्यक्रममा शेखर उपस्थितसमेत भएनन् । त्यतिबेला शशांकले भनेका थिए, ‘शेखरदाको पनि मलाई साथ छ । कार्यव्यस्तताले उहाँ आउनुभएन ।’
त्यतिबेला शेखर विराटनगरस्थित कोइराला निवास पुगेको बताइएको थियो । योसँगै शेखरले नयाँ दल खुलेमा शशांकलाई सभापति बनाउन तयार रहेको बताइएको थियो । तर हालै काठमाडौं आइपुगेका शेखर दुवै पक्षको साझा नेताका रुपमा सभापति बन्ने प्रयासमा लागेका छन् । मंगलबार बिहानमात्र कांग्रेस सभापति गगन थापाले शेखरलाई भेटेका थिए । शेखरको सचिवालय विशालनगरमा भएको भेटमा पार्टीको पछिल्लो विवाद सल्टाउन सभापति थापाले शेखरसँग सहयोग मागेका थिए । ‘पछिल्लो विवाद कसरी मिलाएर जान सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित थियो,’ शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ।
करिब एक घण्टाको भेटवार्तामा सभापति थापाले कांग्रेस विवाद समाधानका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । गत पुसमा विशेष महाधिवेशनपछि थापा सभापति बनेका हुन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिए पनि देउवापक्ष भने संघर्षमा उत्रिएको छ । देउवापक्षले बिहीबार राष्ट्रिय भेलासम्म एकताका लागि थापासँग आग्रह गरेका छन् । भेलासम्ममा एकताको प्रस्ताव नआए नयाँ दल खोलेर अघि बढ्ने चेतावनी संस्थापनइतरले दिँदै आएको छ । हङकङबाट पूर्वसभापति देउवासमेत आइपुग्ने यो भेलालाई सम्बोधन गर्न शेखरसमेत जाने भएका छन् । सभापति थापासँगको भेटपछि शेखर उक्त भेलामा जाने सूचना उनको सचिवालयबाट जारी भएको थियो । उक्त भेलामा सहभागी भए पनि शेखरले एकताकै लागि प्रयास गर्ने उनका स्वकीय सचिव थपलियाले बताए । ‘त्यो कुनै पार्टी विभाजन गर्ने भेला नभएकाले उक्त भेलामा सहभागी भएर डा. शेखर कोइरालाले पार्टी एकताकै लागि आव्हान गर्नुहुने छ,’ थपलियाले भने ।
संस्थापनइतरको भेलामासमेत नदेखिएका शेखर फेरि किन सक्रिय छन् ? स्रोतका अनुसार विराटनगर भनेर गएका शेखर अघिल्लो हप्ता स्थलमार्गबाट भारत पुगेका थिए । ‘उहाँ भारत जानुभएको थियो । भारतमा उच्चस्तरको भेटपछि उहाँ स्थलमार्गहुँदै विराटनगर फर्कनुभएको थियो,’ स्रोतले भन्यो । भारत भ्रमणका क्रममा कांग्रेस एकता, पार्टीको नेतृत्वकोबारेमा भारतीयपक्षका उच्चस्तरका नेताहरुसँग भेटवार्ता भएको बताइएको छ । यो भेट शेखरलाई कांग्रेसको साझा नेता बनाउनेगरी तय भएको शेखरनिकट नेताहरु बताउँछन् ।
यसका लागि डा. शेखरले संस्थापनइतरमासमेत प्रयास गरेका छन् । विशेष महाधिवेशन हुँदा डा. शेखर तटस्थ बसेका थिए । आफू साझा नेता बन्ने प्रयासका साथ शेखरले यो प्रयास थालेको संस्थापनइतरकै नेताहरु बताउँछन् । ‘अहिले डा. शेखर साझा नेता बन्ने प्रयासमा लाग्नुभएको छ । दुवै पक्षको सक्रियता हेर्दा दुवै पक्षले मानेमा डा. शेखर साझा सभापति बन्न सक्नुहुन्छ,’ ती नेताले भने ।
भारत भ्रमणमा डा. शेखरले आफू हिन्दूराष्ट्र नेपालको पक्षमा उभिने वचनसमेत दिएको बताइएको छ । ललितपुरको गोदावरीमा २०८० फागुनमा भएको कांग्रेसका महासमिति बैठकमा शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो । उक्त महासमिति बैठकमा भण्डारीले देउवालाई एक हजार ६३ जनाको हस्ताक्षर बुझाएका थिए । त्यतिबेला डा. शशांक कोइरालालेसमेत यो अभियानमा हस्ताक्षर गरेका थिए ।
नियमितरुपमै कांग्रेसको महाधिवेशन भएको भए देउवाले शशांक वा शेखरमध्ये एकलाई सभापतिको उम्मेदवार बनाउने बताइएको थियो । त्यसका लागि नेताहरुले आन्तरिक गृहकार्यसमेत गरेका थिए । तर भदौ २३ र २४ गते भएको जेन–जी विद्रोहपछि कांग्रेसमा विशेष महाधिवेशनको मुद्दा चर्किएको थियो । जसले गगनलाई कांग्रेसको सर्वोच्च पदमा पु¥यायो र फागुन २१ को निर्वाचनसमेत भयो । साउन २२ गते सर्वोच्चले कांग्रेस आधिकारिकता विवाद मुद्दामा पुनरवलोकनको निस्सा दिएसँगै अहिले सभापति थापा तनावमा देखिन्छन् । यता देउवापक्ष भने उत्साहित बनेका छन् । दुई कट्टर धारलाई चिर्दै मध्यमार्गी बाटो समातेर अबको सभापति बन्ने दाउमा डा. शेखर रहेको चर्चा कांग्रेस वृत्तमा चल्न थालेको छ ।
१५औं महाधिवेशनको गतिविधि रोक्न माग
देउवापक्षले १५औं महाधिवेशनलगायतका सबै सांगठनिक गतिविधि तत्काल रोक्न मागसहित सानेपामा पत्र पठाएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांकले सर्वोच्च अदालतले पार्टीको वैधानिकता र नेतृत्वको विवादमा ‘निस्सा’ (पुनरवलोकनको अनुमति) जारी गरेको कारण देखाउँदै उक्त पत्र पठाएका हुन् ।
कांग्रेस सभापति थापा, सबै प्रदेश, जिल्ला, क्षेत्रीय र वडा कार्यसमितिहरूका साथै निर्वाचन आयोगलाई समेत पठाइएको पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म पार्टीका सबै दूरगामी निर्णयहरू यथास्थितिमा राख्न भनिएको छ । कांग्रेसको वैधानिकता र नेतृत्वको विवादमा सर्वोच्च अदालतबाट यसअघि भएको फैसलाउपर तत्कालीन सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काको पुनरवलोकन निवेदनमा उक्त फैसलामा ‘गम्भीर कानुनी त्रुटि’ औंल्याएको भन्दै वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामा कानुनी प्रश्न उठेको कोइरालाको तर्क छ ।
भेला आयोजक समितिले १५औं महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिका तत्कालका लागि स्थगित गर्नुपर्ने, अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि नीतिगत, राजनीतिक वा आर्थिक निर्णयहरू यथास्थितिमा राख्न माग गरेको छ । शशांकले कानुनी राज्यको सिद्धान्तबमोजिम अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि नगर्न ध्यानाकर्षणसहित गतिविधि अगाडि बढाइए अदालतको अवहेलनाको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिएका छन् ।