सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज जापानी प्रधानमन्त्री साने ताकाइचीबाट प्राप्त उपहारबारे गरेको विवादास्पद टिप्पणी सार्वजनिक भएपछि आलोचनामा परेका छन् । राजनीतिक विपक्षीहरूले उक्त टिप्पणीलाई अपमानजनक भन्दै माफी माग्न आग्रह गरे पनि प्रधानमन्त्री अल्बानिजले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री अल्बानिजले गत महिना ‘बुश डिप’ पोडकास्टलाई दिएइकाे अन्तर्वार्ताका क्रममा जापानी प्रधानमन्त्री ताकाइचीले मे महिनामा अस्ट्रेलिया भ्रमण गर्दा दिनुभएको उपहारबारे टिप्पणी गरेका थिए। उक्त भिडियोको अंश यस साता सार्वजनिक भएपछि अस्ट्रेलियामा राजनीतिक विवाद उत्पन्न भएको हो ।
आफ्नो आधिकारिक निवासमा पोडकास्टकी प्रस्तोता निक्की ओसबोर्नसँग कुराकानी गर्दै प्रधानमन्त्री अल्बानिजले प्रधानमन्त्री ताकाइचीबाट जापानी प्रिमियम खरबुजाको उपहार पाएको बताएका थिए । जापानमा यस्ता खरबुजालाई विलासी उपहारका रूपमा लिइने र एउटाको मूल्य २७० अस्ट्रेलियाली डलरभन्दा बढी पर्ने अस्ट्रेलियाका लागि जापानका पूर्वराजदूतले बताएका छन् ।
अन्तर्वार्ताका क्रममा प्रस्तोता ओसबोर्नले ती फल अस्ट्रेलियाको भन्सारबाट कसरी ल्याइयो भनेर सोधेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री अल्बानिजले हात उठाउँदै आफूले ‘दुई खरबुजा’ पाएको बताएका थिए । त्यसपछि प्रस्तोता ओसबोर्नले जापानी प्रधानमन्त्री ताकाइचीको शारीरिक बनावटलाई अमेरिकी अभिनेत्री तथा मोडल पामेला एन्डरसनसँग तुलना गर्दै टिप्पणी गरेका थिए । उक्त संवादको भिडियो सार्वजनिक भएपछि अस्ट्रेलियाको विपक्षी दलले प्रधानमन्त्री अल्बानिजको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले माफी माग्नुपर्ने बताएको छ । विपक्षीले प्रधानमन्त्रीको टिप्पणीले जापानसँगको सम्बन्धमा समेत असहज अवस्था सिर्जना गर्न सक्ने जनाएको छ ।

मङ्गलबार संसद्मा प्रधानमन्त्री अल्बानिजलाई आफ्नो ‘अपमानजनक व्यवहार’ का लागि माफी माग्ने हो कि भनेर प्रश्न गरिएको थियो । उहाँले भने प्रश्नमा गरिएको आरोप अस्वीकार गरे । “म प्रश्नमा गरिएको दाबीलाई अस्वीकार गर्दछु”, प्रधानमन्त्री अल्बानिजले भने । उनले जापानी प्रधानमन्त्री ताकाइची अस्ट्रेलियाको मित्र मात्र नभई आफ्नो व्यक्तिगत मित्रसमेत भएको बताए। “प्रधानमन्त्री ताकाइची अस्ट्रेलियाका मित्र र मेरा मित्र हुनुहुन्छ”, उनले भने ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले पनि प्रधानमन्त्री अल्बानिजको टिप्पणी जापानी प्रधानमन्त्रीलाई अपमान गर्ने उद्देश्यले गरिएको भन्ने आरोप अस्वीकार गरेका छन् । उनका अनुसार प्रधानमन्त्री अल्बानिजले आफ्नो टिप्पणीलाई विपक्षीहरूले प्रस्तुत गरेको अर्थमा व्याख्या गर्न नचाहेको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री अल्बानिज यसअघि पनि सोही पोडकास्ट अन्तर्वार्ताका क्रममा गरेको अर्को टिप्पणीका कारण आलोचनामा परेका थिए । उनले चर्चित अस्ट्रेलियाली गायिका काइली मिनोगसँग सम्बन्धित अश्लील अर्थ लाग्ने टिप्पणी गरेका भन्दै आलोचना भएपछि माफी मागेका थिए । पछिल्लो विवाद भने जापानसँगको कूटनीतिक सम्बन्धसँग जोडिएको छ । अस्ट्रेलिया र जापानबीच सुरक्षा, व्यापार तथा क्षेत्रीय रणनीतिक विषयमा घनिष्ठ सहकार्य रहँदै आएको छ । प्रधानमन्त्री अल्बानिजले प्रधानमन्त्री ताकाइचीसँगको व्यक्तिगत तथा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा असर पार्ने उद्देश्य आफ्नो टिप्पणीमा नरहेको स्पष्ट पारेका छन् ।
यसबीच, विपक्षी दलले भने प्रधानमन्त्रीको पदमा रहेका व्यक्तिबाट विदेशी नेतासम्बन्धी यस्तो टिप्पणी हुनु उपयुक्त नभएको भन्दै आलोचना जारी राखेको छ । प्रधानमन्त्री अल्बानिजले माफी माग्न अस्वीकार गरेपछि विवाद थप राजनीतिक बहसको विषय बनेको छ ।