नयाँदिल्ली- भारतको झारखण्डमा सरकारी रोजगारीका लागि हुने परीक्षामा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थीहरूले सोमबार राज्य विधानसभातर्फ प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी केही विद्यार्थीले भोक हडतालसमेत गरेका छन् ।
राज्यको राजधानी राँचीमा जुलाई २९ देखि सुरु भएको प्रदर्शनमा कम्तीमा छ जना विद्यार्थी भोक हडतालमा छन् । एक साताभन्दा बढी समयदेखि अनशनमा रहेका ३३ वर्षीय विद्यार्थी नेता देवेन्द्र नाथ महतोले परीक्षा सञ्चालनमा निजी कम्पनीको प्रयोग अन्त्य गर्न माग गरेका छन् । “हामी सम्पूर्ण प्रणालीमा परिवर्तन चाहन्छौँ”, भारतीय सञ्चारमाध्यमले महतोलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।सरकारी परीक्षामा निजी कम्पनीको सङ्लग्नता तथा परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा प्रदर्शनकारीले केही परीक्षा रद्द गर्न तथा सङ्घीय निकायमार्फत त्यसको अनुसन्धान गर्न माग गरेका छन् ।
सोमबार सयौँ सुरक्षाकर्मीले काँडेतारसहितको ब्यारिकेड लगाएर विधानसभाको सुरक्षा गरेका थिए । प्रदर्शनकारी र राज्य सरकारबीच यसअघि भएका पटक-पटकका वार्ता निष्कर्षविहीन भएपछि विद्यार्थीहरू नाराबाजी गर्दै विधानसभातर्फ अघि बढेका थिए । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले प्रदर्शनकारीका केही माग सम्बोधन गर्दै आन्दोलन अन्त्य गर्ने प्रयास गर्नुभएको छ । परीक्षाको निरीक्षण गर्ने निजामती सेवा निकायका केही सदस्यले पनि राजीनामा दिएका छन् ।
“कुनै पनि समस्या वार्तामार्फत समाधान गर्न सकिन्छ”, मुख्यमन्त्री सोरेनले आइतबारको सम्बोधनमा भनेका थिए । झारखण्डको प्रदर्शन भारतमा सरकारी भर्ना परीक्षाको पारदर्शिता र विश्वसनीयताबारे बढिरहेको असन्तुष्टिको पछिल्लो उदाहरण हो । सीमित सरकारी रोजगारीका लागि लाखौँ युवा प्रतिस्पर्धा गर्ने भारतमा सरकारी परीक्षा रोजगारी प्राप्त गर्ने प्रमुख माध्यमका रूपमा रहेको छ ।
यसअघि नयाँदिल्लीमा पनि सरकारी परीक्षामा कथित अनियमितताको विरोधमा युवाहरूले लामो समय प्रदर्शन गरेका थिए । उक्त आन्दोलनले भारतको परीक्षा प्रणालीको विश्वसनीयतालाई प्रमुख राजनीतिक मुद्दाका रूपमा समेत उठाएको थियो ।