काठमाडौं- संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए ।
उनका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अद्यावधिक र वितरणका बारेमा छलफल हुनेछ । यस्तै, महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
बैठकमा पछिल्लो समय तराई-मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिन र विपक्षीको भूमिका, प्रदेश सरकार र सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वाँरले बताए । यसबाहेक मुलुकको समसामयिक राजनीतिक मुद्दा र भ्रातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।