- पहिचानवादी तथा मधेसकेन्द्रित शक्तिहरू मोर्चाबन्दीमा
- अग्रगामी मोर्चा सत्ता प्राप्ति र सरकारको विरोधका लागिमात्रै नभएको दाबी
- देशलाई आर्थिक, सामाजिक र राजनीतिक संकटबाट निकास दिन मोर्चाबन्दी आवश्यक भएको भनाइ
- मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी
काठमाडौं- गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित परिणाम बेहोरेपछि अस्तित्व संकटमा परेका पहिचानवादी तथा मधेसकेन्द्रित शक्तिहरूले शनिबार ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । मोर्चामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा सहभागी छन् ।
राजनीतिक शक्ति विस्तारभन्दा पनि अस्तित्व जोगाउने प्रयासका रूपमा मोर्चा गठन गरेको देखिन्छ । मोर्चामा आबद्ध दलका नेताहरू नेपाली राजनीतिमा नयाँ नाम होइनन् । मोर्चा घोषणा समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । उनले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी भएको दाबी पनि गरे । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारूलगायतका आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ । ‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो । यस्तो प्रवृत्तिले अन्ततः अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्य-मान्यतालाई समाप्त पार्छ,’ उनले भने ।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको उनले बताए । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैं ‘टेढा-मेढा बाटो’ पार गर्नुपर्ने बताए । ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन । राजनीति आफैंमा एउटा डर्टी गेम हो, यसमा अष्टावक्रझैं टेढा-मेढा बाटाहरू पार गर्दै अनेकौं चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ,’ उनले भने ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताएका छन् । राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताए । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले संघीयता, लोकतन्त्र र गणतन्त्रसमेत प्रश्नको घेरामा परेको दाबी गरेका छन् । उनले परराष्ट्र नीतिका सम्बन्धमा नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकी मुलुकहरूसँग समानता र पारस्परिक सम्मानका आधारमा सम्बन्ध विस्तार गर्ने नीति लिइएको जिकिर गरे ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त संघीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने बताए । वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको उनको टिप्पणी छ । उनले युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको स्पष्ट पारे ।
पूर्वमन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशलाई आर्थिक, सामाजिक र राजनीतिक संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चा गठन गरिएको बताए । उनले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको बताए ।
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकार चुनावी वाचा पूरा गर्न असफल भएको टिप्पणी गरे । उनले सरकारप्रति कोही पनि सन्तुष्ट बन्न नसकेको बताए । यद्यपि, सरकारको विरोधका लागिमात्रै आफूहरूले मोर्चाबन्दी नगरेको उनको दाबी छ ।