काठमाडौं- रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार गत वर्ष ४० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा मितेरी पुल बगेपछि दुईतर्फ हुने सामन आयात–निर्यात ठप्प भएपछि निर्धारित लक्ष्यबमोजिम राजस्व संकलन गर्न नसकिएको हो । सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने सो व्यापारिक नाकाबाट चालु आर्थिक वर्षका लागि २५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
सो व्यापारिक नाकाबाट गत आव २०८२/८३ मा ४३ अर्ब ७३ करोड रुपैयाँ बराबरका विभिन्न मालसामान नेपाल भित्रिएको थियो । त्यस्तै अघिल्लो आव २०८१/८२ मा ८५ अर्ब २३ करोड रुपैयाँ बराबरका सामग्री आयात भएको थियो । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सहरबाट नेपालमा दैनिक उपभोग्य वस्तु, तयारी पोसाक, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका उपकरण, विद्युतीय सवारीसाधन तथा अन्य औद्योगिक सामग्री यही नाका हुँदै नेपाल भित्रिने गरेको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार रोल कपडा, तयारी पोसाक, जुत्ता-चप्पल, थर्मस, बालबालिकाका खेलौना, अदुवा, लसुन, अङ्गुर, ओखर, स्याउ, कुकर, विद्युतीय सवारीसाधन तथा बालबालिकाका पोसाकलगायत विविध सामग्री यही नाकाबाट नेपाल भित्रिने गरेको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार प्राकृतिक विपद्का कारण सडक सञ्जाल कहिले र कहाँ अवरुद्ध हुन्छ भन्ने अनिश्चितता रहे पनि चालु आर्थिक वर्षका लागि २५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
वर्षायाममा हुने अवरोध हटाउन यसअघि रसुवागढी हाइड्रोपावरले काम गरे पनि मितेरी पुल बग्दा सडक ठप्प भएको थियो । यस वर्ष सडक सुधारका लागि चिनियाँ ठेकेदार कम्पनी उपकरणसहित तैनाथी अवस्थामा रहेको र रसुवागढी नाकामा ‘बेली ब्रिज’समेत बनेकाले लामो समयसम्म सो सडकखण्ड अवरुद्ध नहुने अपेक्षा गरिएको छ ।