काठमाडौं- नेपाल पत्रकार महासंघको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल मिडिया सम्मेलन-२०२६’ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, श्रमजीवी पत्रकारका अधिकारको कार्यान्वयन, प्रवास पत्रकारिताको संस्थागत सुदृढीकरणलगायत विषयमा नौ बुँदे ‘टोकियो घोषणापत्र’ जारी गरेको छ ।
घोषणापत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका आधुनिक प्रविधिसम्बन्धी नीतिगत व्यवस्था गर्न आग्रह गरिएको छ । नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा महासंघ, जापान शाखाको आयोजना र महासंघका सबै वैदेशिक शाखा (युरोप, युके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स र भारत शाखा) को सहआयोजना एवं महासंघसँग आबद्ध संस्था नेपाल अमेरिका पत्रकार संघ र नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा सम्पन्न भएको थियो । सम्मेलनपश्चात् आज यहाँ विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गरिएको हो ।
महासंघका अध्यक्ष निर्मला शर्मा, पदाधिकारीहरू, प्रदेश र जिल्ला शाखाका नेतृत्वकर्ता, वैदेशिक शाखाका पदाधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको सम्मेलनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अङ्कुश लगाउन नहुनेमा जोड दिएको छ । महासंघद्वारा जारी विज्ञप्तिमा प्रेसमैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गर्दै सञ्चारसम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकार भएका निकायका प्रतिनिधिसँग परामर्श गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।
सम्मेलनले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम् पारिश्रमिक, सेवा-सुविधा, सामाजिक सुरक्षा, नियुक्तिपत्र, बिमा तथा अन्य श्रमिक अधिकार सुनिश्चित गर्न सञ्चारसंस्था र सरकार दुवैको ध्यानाकर्षण गराएको छ । साथै सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट उत्पन्न चुनौती व्यवस्थापनका लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न आग्रह गरिएको छ ।
घोषणापत्रमा प्रवासमा रही नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय हितको प्रवर्द्धन गर्दै पत्रकारिता गरिरहेका पत्रकारप्रति सम्मान व्यक्त गर्दै महासंघको विधान संशोधनमार्फत वैदेशिक शाखामा आबद्ध सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न पहल गरिने उल्लेख छ ।
सम्मेलनले प्रवासमा रहेका नेपाली पत्रकारले आर्जन गरेको ज्ञान, सीप, अनुसन्धान अनुभव तथा आधुनिक सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सम्मेलनले विदेशमा कार्यरत नेपाली पत्रकारको योगदानको सम्मान स्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।