अर्थमन्त्री वाग्लेले कात्तिक ६ गते नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट–२०२६’ मा सम्बोधन गर्दै नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए।
काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको अभिव्यक्तिले नेपाली राजनीतिक तथा बौद्धिक वृत्तमा खलबली मच्चाएको छ। नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको उनको टिप्पणीप्रति प्रतिपक्षी दलका नेता, पूर्वमन्त्री, अर्थशास्त्रीदेखि कलाकारसम्मले प्रश्न उठाएका छन्।
उनीहरूले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्नु नेपालको हितमा भए पनि राष्ट्रिय स्वाभिमान, स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर देखाएर सम्बन्ध सुधार्न खोज्नु गलत भएको बताएका छन्। वाग्लेको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धमा रहेका सीमा विवाद, व्यापार घाटा, गैरभन्सार अवरोध र अन्य असमझदारीबारे नेपालको अडान कमजोर पार्न सक्ने उनीहरूको तर्क छ।
अर्थमन्त्री वाग्लेले कात्तिक ६ गते नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट–२०२६’ मा सम्बोधन गर्दै नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए। उनले नयाँ पुस्ताको प्राथमिकता आर्थिक समृद्धि, रोजगारी, सुशासन र असल छिमेकी सम्बन्ध रहेको उल्लेख गरेका थिए।
‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ। कहिलेकाहीँ समस्या आउँछन् तर हामी एकअर्कासँग दृढरूपमा जोडिएका छौं,’ वाग्लेले भनेका थिए, ‘भारतसँगको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन। कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो। तर, त्यो युग अब सकिएको छ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्याउन चाहेको पनि बताएका थिए। तर, उनको अभिव्यक्तिले नेपालमा भारतविरोधी राष्ट्रवादको अस्तित्व नै स्वीकार नगरेको र राष्ट्रिय हितका विषय उठाउने प्रवृत्तिलाई भारतविरोधी भावनाका रूपमा चित्रण गरेको भन्दै आलोचना भएको छ।

‘नेपालमा कहिल्यै भारत विरोधी राष्ट्रवादको युग थिएन। नेपालले जहिल्यै सार्वभौम समानता र पारस्परिक हित एवं सम्मानमा उभिएको मित्रतापूर्ण सम्बन्ध चाह्यो र आज पनि त्यही चाहन्छ,’ पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भने, ‘कुनै व्यक्ति या समूह विशेषले राख्ने दृष्टिकोण आफैंमा कुनै ‘युग’ होइन। त्यसले समग्र राष्ट्रको प्रतिनिधित्व पनि गर्दैन। अर्थमन्त्रीले कुन ‘युग’को कुरा गर्नुभएको हो ?’
ज्ञवालीका अनुसार विदेशी भूमिमा नेपालको आन्तरिक राजनीतिक मत भिन्नताबारे बोल्नु उपयुक्त होइन। नेपाल र भारतबीच सीमा समस्या, सन् १९५० को सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनको भारतीय बजारमा पहुँच, बढ्दो व्यापार घाटा र सीमामा निर्माण गरिएका संरचनाका कारण हुने डुबानजस्ता विषयमा खुलस्त छलफल हुनुपर्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वपरराष्ट्रमन्त्री कमल थापाले पनि वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भनेका छन्। ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनकमात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो। नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन,’ उनले भने।
सानो समूहका केही धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचितरूपमा व्याख्या गर्नु वाग्लेको गलत दृष्टिकोण भएको थापाको भनाइ छ।
एमाले नेता गोकुल बाँस्कोटाले पनि वाग्लेको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले अर्थमन्त्रीको टिप्पणीलाई राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक बुझाइको कमजोरीका रूपमा व्याख्या गरेका छन्। ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन्, तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्,’ बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले वाग्लेको अभिव्यक्तिले प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादजस्ता विषय उठाइन्छन् कि उठाइँदैनन् भन्ने आशंका पैदा गरेको बताएका छन्।
एमाले नेता राजन भट्टराईले पनि नेपालको हितमा बोल्नुलाई भारतविरोधी वा उग्र राष्ट्रवाद भन्न नमिल्ने बताएका छन्। दक्षिणी सीमामा निर्माण गरिएका संरचनाका कारण नेपाली भूभाग डुबानमा पर्ने समस्या उठाउनु, अलैँची, चिया र जुटजस्ता नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच माग्नु तथा नेपाली बिजुली खरिदमा भारतले राख्ने सर्तमाथि प्रश्न गर्नु राष्ट्रिय हितको पक्षमा बोल्नु भएको उनको तर्क छ।
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक डा. तारा भुसालले पनि वाग्लेको अभिव्यक्तिले नेपालको स्वतन्त्र विदेश नीति, राष्ट्रिय स्वाभिमान र कूटनीतिक बार्गेनिङ क्षमतामाथि प्रश्न खडा गरेको बताएका छन्। उनका अनुसार भारतविरोधी अन्धराष्ट्रवाद गलत भए पनि त्यसको विरोध गर्ने नाममा नेपालको आर्थिक तथा भौगोलिक चासोलाई ओझेलमा पार्न मिल्दैन। दुई देशबीचको व्यापार घाटा, गैरभन्सार अवरोध, ऊर्जा व्यापारमा भारतको प्रभाव तथा कालापानी र लिपुलेकजस्ता सीमा विवाद नेपालको महŒवपूर्ण सरोकार भएको भुसालको भनाइ छ।
उनले भारतमा आयोजित मञ्चबाट ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने घोषणा गर्नु हतारो भएको टिप्पणी गरेका छन्। यस्तो अभिव्यक्तिलाई भारतीय संस्थापन पक्षलाई आश्वस्त पार्ने प्रयासका रूपमा बुझ्न सकिने उनको विश्लेषण छ।
पूर्वअर्थ तथा परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भने वाग्लेलाई आफ्नो मन्त्रालयको कार्यसम्पादनमा ध्यान दिन सुझाव दिएका छन्। उनले नेपालको निर्यात व्यापारमा देखिएका गैरभन्सार अवरोध हटाउन सरकारले ठोस पहल गर्नुपर्ने बताएका छन्।
लोहनीले दक्षिण एसियामा ‘मुनरो डक्ट्रिन’ जस्तो अवधारणाप्रति वाग्लेले देखाएको आकर्षणको औचित्यमाथि पनि प्रश्न उठाएका छन्। यस्तो अवधारणा नेपालको आधिकारिक विदेश नीतिसँग कसरी मेल खान्छ भन्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।
अभिनेता राजेश हमालले पनि वाग्लेको अभिव्यक्तिले नेपालको परराष्ट्र नीतिको सिद्धान्तमा आधारित जगलाई विकृत पार्ने जोखिम रहेको बताएका छन्। उनले अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्।
हमालका अनुसार नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्छ। नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहास निम्त्याउने टिप्पणीमा सीमित गर्न नहुने उनको भनाइ छ। ‘छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक जिम्मेवारी हुन्,’ हमालले लेखेका छन्।
उनले नेपाल–भारत सम्बन्ध बलियो बनाउने प्रयासको स्वागत गर्दै राष्ट्रिय अडानलाई उचित कूटनीतिक विवेक, प्रमाण र सौहाद्र्रपूर्ण संवादमार्फत प्रस्तुत गर्नुपर्ने बताएका छन्। यद्यपि, सत्तारूढ रास्वपाका सांसद राजीव खत्रीले भने वाग्लेको अभिव्यक्तिको बचाउ गरेका छन्। छिमेकीलाई गाली गरेर राजनीति गर्ने समय गएको भन्दै उनले प्रश्न गरेका छन्, ‘अनि के भारतलाई गाली गरौं, राष्ट्रियता जोगाऔं भन्नुपर्ने थियो ?’
खत्रीले विगतमा भारतमा बसेर नेपालमा राजनीतिक गतिविधि गर्ने र पछि राष्ट्रियताको कुरा गर्ने नेताहरूमाथि पनि प्रश्न उठाएका छन्।