कर्णाली- कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन भन्ने मूल नाराका साथ ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ कर्णालीमा पनि भव्यताका साथ सम्पन्न गरिएको छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विभिन्न साझेदार सङ्घसंस्थाहरूको सहकार्यमा शनिबार सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न दिवसका वक्ताहरूले कोदोप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिइएको छ । उक्त अवसरमा मन्त्रालयका सचिव सञ्जीवकुमार कर्णले हाम्रो मौलिक पहिचान र औषधीय गुण बोकेको कोदोलाई गरिबको खानाका रूपमा हेर्ने गरिएको बताए ।
उनले भने, “कोदो केवल गरिबले खाने खाना होइन, यो खाद्य तथा पोषण सुरक्षा सुरक्षित गर्ने महत्त्वपूर्ण बालीको हो । यसप्रति हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । बरु यसको संरक्षण अपरिहार्य छ ।” कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा विकास गर्ने सरकारको अभियानमा कोदो र रैथाने बालीको उत्पादन वृद्धिले ठूलो सहयोग पुर्याउने सचिव कर्णले जिकिर गरे ।
मन्त्रालयका बाली विकास अधिकृत विमला कुमारी खनालले कोदोको उत्पत्ति, उत्पादन र उपभोगका बारेमा दिवसकै अवसरमा यसको प्रवर्द्धन, चुनौती र भावी कार्यदिशासम्बन्धी प्राविधिक सत्र तथा कार्यपत्र प्रस्तुतिकरणसमेत गरिएको बताइन् । कर्णालीमा रैथाने बाली कोदोको मौलिक पहिचान, व्यावसायिक विकास र उपभोग बढाउन कार्यक्रमबाट टेवा पुग्ने उनले बताइन् ।
प्रदर्शनीमा राखिएका कक्षहरूमा २० भन्दा बढी प्रकारका कोदोका स्वादिला र पौष्टिक परिकारहरू राखिएका थिए । स्टलमा कोदोको सेलरोटी, ढिँडो, मःम, केक र बिस्कुटलगायतका आधुनिक र परम्परागत परिकार प्रदर्शन गरिएको थियो ।
कर्णाली प्रदेश अग्र्यानिक क्षेत्रका उद्यम गर्दै आएका उद्यमी कमल नेपालीले कोदोबाट करिब दुई दर्जनभन्दा बढी प्रकारका स्वादिष्ट परिकार बनाउन सकिने बताए। कोदोको व्यावसायिक विविधिकरण गरेर बजारमा लैजान सके युवाहरूका लागि स्वरोजगारको ठूलो अवसर सृजना हुने र कर्णालीको अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको भनाइ थियो । प्रदर्शनीमा कोदोको परम्परागत ढिँडोदेखि आधुनिक केकलगायत विभिन्न परिकार बनाएर राखिएको छ ।