- गगन थापा महामन्त्री छँदा नियत नै पार्टीको हितविपरीत र विधानविपरीत विशेष महाधिवेशन गरी आफूले पद हत्याउने देखिएको संस्थापनइतरको रिटमा उल्लेख
काठमाडौं- नेपाली कांग्रेसको संस्थापनइतर समूहले सभापति पार्टीको आधिकारिकता पुनरावलोनका लागि दिइएको रिटमा १० जिकिर गर्दै संस्थापनइतरले थापालाई गम्भीर आरोप लगाएका हुन् ।
साउन ६ गते बुधबार पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्काले आधिकारिकताको विषय पुनरावलोकनका लागि रिट दायर गरेका थिए । सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन पक्षलाई मान्यता दिने आदेश वैशाख ४ गते गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको पक्षमा निर्णय दिएको हो ।
गत पुस अन्तिममा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयोगले २०८२ माघ २ गते गगन नेतृत्वलाई आधिकारिकता दिएपछि देउवापक्ष माघ ४ गते सर्वोच्च अदालत गएको थियो ।

यसैगरी रिटमा विशेष महाधिवेशन गर्न किर्ते हस्ताक्षर प्रयोग भएको दाबीसमेत गरिएको छ । कूल ५४ प्रतिशत भनी दाबी गरिए पनि ३४ प्रतिशतमात्र विशेष महाधिवेशनका लागि हस्ताक्षर सही भएको रिटमा दाबी गरिएको छ । ‘पार्टीभित्र कूल चार हजार ७०० भन्दा बढी महाधिवेशन प्रतिनिधि कायम रहेको अवस्थामा विपक्षीहरुले निर्वाचन आयोगमा किर्ते गरेको र झुक्याएको प्रस्ट छ । संख्यामा दुई हजार ४८८ जना विशेष महाधिवेशन प्रतिनिधिहरु सहभागी रहेको भनिएता पनि विशेष महाधिवेशन र त्यसको निर्वाचन प्रक्रियालाई अस्वीकार गरी ८८८ जना महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर फिर्ता लिएको भनी केन्द्रीय कार्यसमितिमा निवेदन दिएको अवस्था छ,’ रिटमा भनिएको छ, ‘विशेष महाधिवेशन आह्वान गर्न माग गरी बुझाइएको निकायमा नै हस्ताक्षर फिर्ता गरेको निवेदन पेस गरेको अवस्था छ । हस्ताक्षर फिर्ता गरेको प्रतिनिधिहरुले नै फिर्ता लिएको अवस्थामा अल्पमतको एक गुटलाई निर्वाचन आयोगले दलको आधिकारिकता सुम्पिनु र त्यसलाई सर्वोच्च अदालतलेसमेत सदर गर्नु ‘अल्पमतको स्वेच्छाचारिता’ लाई प्रश्रय दिनु हो ।’
त्यसैगरी संस्थापइतरले गगनको नियत नै पद हत्याउने खालको देखिएको दाबी गरिएको छ । महामन्त्री हुँदा क्रियाशील सदस्यता छानबिन समितिको संयोजक भएका गगनले आफ्नो काम पूरा नगरेकोले यो पुष्टि भएको जिकिर रिटमा छ । ‘तीन महिनाभित्रको अवधिमा नियमित महाधिवेशन सम्पन्न गर्ने उद्देश्यले तत्कालको अवस्थामा महामन्त्री विपक्षी मध्येका गगन कुमार थापालाई क्रियाशिल सदस्यता छानविन गर्ने समिति संयोजक बनाइ कार्यतालिकासमेत प्रकाशन गरिएको थियो । तर निज विपक्षीले तोकेको जिम्मेवारी पूरा गर्नुभएन । निज विपक्षीको नियत नै पार्टीको हितविपरीत र विधानविपरीत विशेष महाधिवेशन गरी आफूले पद हत्याउने पदलोलुपता भएकै कारण समयमा कार्यसम्पन्न नगरेको प्रस्ट हुन्छ,’ रिटमा दाबी गरिएको छ ।