गोलीको पनि आफ्नै मौसम हुँदो रहेछ । कुनै बेला वर्षा लागेझैँ गोली लाग्छ । कहिले भदौको २३ र २४ गते, कहिले साउन १० गते । क्यालेन्डरले तिथि फेरिरहन्छ, तर गोलीको चरित्र फेरिँदैन । उसलाई न चाडपर्व चाहिन्छ, न शुभसाइत । उसलाई चाहिने एउटै कुरा हो, कसैको छाती । गोली चलाउनेले सधैँ एउटा कारण देखाउँछ । गोली खानेले सधैँ एउटा सपना देख्छ । अनि गोली नखानेहरूले इतिहास लेख्छन् । इतिहासको यही त्रिकोणमा देश वर्षौंदेखि घुमिरहेको छ । मट्याङ्ग्रो सिफल चौरको चिया पसलमा पुगेको थियो । चिया पसलमा चियाको कपभन्दा बढी तातो त्यहाँको बहस थियो ।
कसैले भन्यो, ‘फेरि गोली चलेछ ।’
मट्याङ्ग्रोले चिया फुक्दै भन्यो, ‘गोली चलेको समाचार नयाँ हो र ? अब त गोली नचल्नु समाचार हो ।’उमेर ढल्केका अनि छिप्पिएका बाहरु सबै हाँसे । हाँसो पनि कस्तो ? मुस्कानभन्दा बढी पीडा मिसिएको जस्तो । त्यो मोरो गोलीको पनि भाग्य बलियो । ऊ चल्नेबित्तिकै प्रेस विज्ञप्ति जन्मिन्छ । श्रद्धाञ्जली जन्मिन्छ । आयोग जन्मिन्छ । छानबिन समिति जन्मिन्छ । तर न्याय भने कहिल्यै जन्मिँदैन । हाम्रो देशमा गोलीको सबैभन्दा ठूलो विशेषता के हो भने, गोली चलाउने कहिल्यै दोषी हुँदैन । दोषी सधैँ परिस्थिति हुन्छ । कहिले भीड दोषी हुन्छ, कहिले उत्तेजना दोषी हुन्छ, कहिले अफवाह दोषी हुन्छ । अन्तिममा सबै दोषी हुन्छन्, तर ट्रिगर थिचेको औंला निर्दोष प्रमाणित हुन्छ ।
मट्याङ्ग्र्रो सोच्दै थियो, गोलीको पनि कस्तो भाग्य ! ऊ धातुको एउटा टुक्रामात्र हो । तर मानिसको महत्वाकांक्षाले उसलाई दर्शन बनाइदिन्छ । हिजो चरी डन गोलीबाट सिद्धिए । त्यसअघि पनि कति सिद्धिए । त्यसपछि पनि कति सिद्धिए । गोलीले कहिल्यै सोध्दैन, ‘तिमी अपराधी हौ कि आदर्शवादी ?’ ऊ त आदेशको कर्मचारी हो । जसले जता पठायो, त्यतै जान्छ । अचम्म त त्यतिबेला लाग्छ, जब गोलीले मारेको मानिसको तस्बिर वर्षौंपछि माला लगाएर सार्वजनिक चोकमा उभ्याइन्छ । जसले जीवनभर छाता ओढ्न पाएन, उसको सालिकमाथि छानो हाल्ने योजना बन्छ । जसले बाँच्दा अस्पताल पाएन, मरेपछि पार्क पाउँछ । यो देशमा जीवित मानिसभन्दा मृत मानिस धेरै सम्मानित हुन्छ ।
मट्याङ्ग्रोले गएको सहिद दिवसमा प्रजातन्त्र ल्याउन मारिएका सहिद धर्मभक्त माथेमाको सिफल ओरालोमा रहेको सालिकमा तस्बिर खिचाउँदै सोधेको थियो, हजुरबा तपाईंलाई कस्तो छ ? सालिकले केही बोलेन । बोल्न सक्थ्यो भने सायद भन्थ्यो, ‘बाँच्दा केही थिएन, अहिले चौतारो छ । बाँच्दा कसैले पानी दिएन, अहिले हरेक वर्ष फूल चढाउँछन् । हामीलाई फूल चढाउन सजिलो छ, फूल जोगाउन गाह्रो ।’ परिवर्तनको अर्को रमाइलो कुरा छ । परिवर्तनका गीत गाउँदा माइक्रोफोन एउटाको हुन्छ, गोली अर्काको छातीमा लाग्छ । नारा एउटाले बनाउँछ । पोस्टर अर्काले टाँस्छ । भाषण नेताले गर्छ । मुद्दा कार्यकर्ताले बोक्छ । गोली युवाले खान्छ । कुर्सी नेताले पाउँछ । कति न्यायपूर्ण हिसाब !

युवाहरूलाई सधैँ भनिन्छ, ‘देश तिमीहरूको हो । तर देश त उनीहरूलाई जिम्मा दिने बेलासम्म देशका सबै कुर्सी आरक्षणमा पुगिसकेका हुन्छन् । बाँकी रहन्छ सडक । र, सडकमा रहन्छ धूलो । धूलोसँगै रहन्छ गोली । गोलीलाई उमेर मनपर्छ । उमेर पनि त्यही डर नमान्ने । २० वर्षको युवकलाई मृत्युको अर्थ थाहा हुँदैन । उसलाई भविष्य देखिन्छ । नेताले त्यही भविष्यमा झण्डा बाँधिदिन्छ । हामीसँग आऊ । देश बदलिन्छ । क्रान्ति हुन्छ । इतिहास बन्छ । त्यही सुनेर युवा लाग्छ । इतिहास बन्छ पनि ।
तर इतिहासको पानामा युवाको नाम सानो अक्षरमा हुन्छ । नेताको नाम सुनौलो अक्षरमा । यही हो हाम्रो राजनीतिक मुद्रण प्रविधि । मट्याङ्ग्रोले त्यही चिया पसलमा एकजना बूढालाई सोध्यो, ‘हजुरले कति आन्दोलन देख्नुभयो ?’बूढाले लामो सास फेर्दै भने, ‘बाबु, आन्दोलन त धेरै देखेँ । परिवर्तन पनि धेरै देखेँ । तर एउटा कुरा कहिल्यै देखिनँ । गोली चलाउनेको छोरा गोली खान गएको ।’ मट्याङ्ग्रो चुप ! किनकि प्रश्नको उत्तर संसद्मा पनि थिएन । हाम्रो देशमा नेताहरूका सन्तान विदेशमा भविष्य खोज्छन्, कार्यकर्ताका सन्तान सडकमा भविष्य खोज्छन् । एउटाले पासपोर्ट बनाउँछ, अर्काले प्लेकार्ड । एउटाले विमान चढ्छ, अर्काले एम्बुलेन्स । फरक यतिमात्र हो । गोली चल्दा सबैभन्दा पहिले शोक वक्तव्य आउँछ । ‘हामी गहिरो दुःख व्यक्त गर्दछौं, गोली चलाउनुपर्ने अवस्था नै थिएन ।’
दुःख पनि कस्तो ? त्यही पुरानो ढाँचाको । नाममात्र फेरिन्छ । वक्तव्य उही । जसरी होटलमा एउटै तरकारीलाई फरक नाम दिएर बेचिन्छ, त्यसरी दुःख पनि प्रेस विज्ञप्तिमा नयाँ प्याकेटमा आउँछ । त्यसपछि छानबिन समिति । समितिको पनि भाग्य राम्रो । उनीहरू रिपोर्ट बनाउँछन् । रिपोर्ट प्लास्टिकको टोकरीमा राखिन्छ । प्लास्टिकको टोकरीमा धूलो बस्छ । धूलोमाथि अर्को रिपोर्ट बस्छ । अनि न्यायले फेरि अर्को वर्ष पर्खिन्छ । गोलीले देश बदल्दैन । गोलीले परिवार बदल्छ । एउटा बाबुविना घर । एउटी आमाविना सहारा । एउटा बच्चाविना भविष्य । यति परिवर्तन त पक्कै हुन्छ । तर भाषणमा यो परिवर्तन उल्लेख हुँदैन । भाषणमा राष्ट्र बच्छ । घर मर्छ । राजनीति पनि अचम्मको व्यापार हो । यहाँ पुँजी भनेको जनभावना । कच्चा पदार्थ भनेको युवा । उत्पादन भनेको सत्ता । नाफा भनेको कुर्सी । घाटा भनेको सहिद परिवार । व्यापार घाटामा कहिल्यै जाँदैन । घाटा सधैँ जनताले बेहोर्छन् ।
गत वर्ष भदौ २६ गते मट्याङ्ग्रो अस्पताल पुगेको थियो । जेन-जी विद्रोहमा गोली लागेका युवाको आमा रोइरहेकी थिइन् । त्यही बेला नेता आए । नेतासँगै दुई-चार जना क्यामरा बोकेका पनि आएका थिए । नेताको छातीमा ‘पिनमाइक’ टाँसिएको थियो । ताकि उनले बोलेकोमात्र स्पष्ट ती क्यामरामा कैद होउन् । प्रविधिको जो जमाना छ नि ! गोली खाएको युवाकी आमा त्यहीँ बसिरहिन् । मट्याङ्ग्राले सोच्यो, हाम्रो देशमा क्यामराको मेमोरी कार्ड मानिसको सम्झनाभन्दा धेरै बलियो रहेछ । फोटो वर्षौं रहन्छ । प्रतिबद्धता पाँच मिनेट । गोली चलेपछि सामाजिक सञ्जाल तात्छ । ह्यासट्याग आउँछन् । प्रोफाइल फोटो कालो हुन्छ । दुई दिनपछि फेरि नाचगान । अर्को हप्ता अर्को विषय । मानिसको स्मृति पनि मोबाइलको नोटिफिकेसन जस्तै भएको छ । नयाँ आयो, पुरानो हरायो । तर आमाको स्मृतिमा कुनै अपडेट आउँदैन । त्यहाँ गोलीको आवाज जीवनभर बजिरहन्छ ।
हामीले शान्तिलाई भाषणमा धेरै खोज्यौं । सम्झौतामा खोज्यौं । स्मारिकामा खोज्यौं । नारामा खोज्यौं । तर शान्ति त त्यो दिन आउँछ, जुन दिन कुनै नेताले आफ्नै छोरालाई पहिलो पंक्तिमा उभ्याएर भन्ने छ- जाऊ, यदि आन्दोलन यति नै पवित्र छ भने सबैभन्दा पहिले तिमी जाऊ । त्यो दिन सायद आन्दोलनको स्वर नै बदलिन्छ । किनकि बलिदान अरूको सन्तानबाट मात्र माग्दा क्रान्ति सजिलो हुन्छ । आफ्नै घरबाट माग्दा विवेक जाग्छ ।
मट्याङ्ग्रोले अन्तिमपटक आकाशतिर हेर्यो । बादल थिए । तर उसले वर्षाको कामना गरेन । किनकि, उसलाई डर थियो, कहीँ फेरि कसैले बादलको आवाजलाई पनि गोलीको आवाज भनेर घोषणा नगरोस् । उसले आँखा बन्द गरेर एउटा सानो प्रार्थना गर्यो, ‘हे समय ! अब इतिहासमा नयाँ सहिद थप्ने होइन, नयाँ शिक्षक थप । नयाँ वैज्ञानिक थप । नयाँ किसान थप । नयाँ कलाकार थप । नयाँ चिकित्सक थप । नयाँ सपना थप । नयाँ उद्योग कलकारखाना थप, नयाँ रोजगारी थप । किनकि, देशलाई सालिकभन्दा मानिस चाहिएको छ ।
मट्याङ्ग्रोले चिया खाइरहेका सबै छिप्पिएका बाहरुलाई भन्यो, ‘गोलीले जितेको देश मैले देखिनँ । डरले बाँचेको लोकतन्त्र पनि देखिनँ । तर शान्तिको खोजीमा हिँड्ने मानिसहरू भने अझै बाँकी छन् ।’ त्यसपछि उसले आकाशतिर हेरेर मुस्कुरायो । ‘हे शान्ति ! तिमी कहाँ हरायौं ? संसद्को भाषणमा कि सडकको रगतमा ? आयोगको प्रतिवेदनमा कि आमाको आँखाको आँसुमा ? यदि कतै लुकेकी छौ भने अब नलुक । किनकि, देशलाई अब शान्ति चाहिएको छ ।’
न ‘स्टण्टले’ देश बन्छ, न त ‘क्याटवाक’ले नै ! देश बन्नका लागि पनि शान्ति चाहिन्छ । त्यही शान्तिमा उद्योग कलकारखाना थपिँदै जान्छन् । रोजगारी बढ्दै जान्छन् । युवाहरु रोजगारीमा नै व्यस्त हुन्छन् । त्यसपछि न त जुलुस, धर्ना वा तोडफोड हुन्छ न त गोली नै खानु पर्दछ । न त परिवर्तनका नाममा कुनै एउटा सन्तान सालिक नै बन्नु पर्दछ । त्यसैले पनि अब गोली होइन हाम्रा सन्तती र मुलुकका लागि भोलि खोजौं ! शान्ति खोजौं ! कस्ता-कस्ता आए, गुलेली चलाए, मट्याङ्ग्रा सत्यानाश नगरौं !