काठमाडौं- शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेस एक बनाइराख्ने कि फुटाउने भन्ने विषय अब सभापति गगन थापाको हातमा रहेको बताएका छन् । बिपी स्मृति दिवसका अवसरमा पूर्वसभापति देउवापक्षले बुधबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको कार्यक्रममा खड्काले यस्तो बताएका हुन् ।

आज पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजी तपाईंको हातमा छ । तपाईंले नचाहँदासम्म पार्टी मिल्न सक्दैन, त्यसैले एकताको निर्णय लिन म आग्रह गर्दछु ।
पूर्णबहादुर खड्का
पूर्वउपसभापति
पूर्वउपसभापति खड्काले पार्टीको भविष्य निर्धारण गर्ने निर्णय लिने जिम्मेवारी नेतृत्वकै भएको बताएका हुन् । ‘यसअघि गिरिजाप्रसाद कोइरालाले फुटेको कांग्रेसलाई मिलाउने ऐतिहासिक निर्णय गर्नुभएको थियो,’ खड्काले भने, ‘आज पार्टी मिलाउने कि विभाजन गर्ने भन्ने जिम्मा गगनजी, तपाईंको हातमा छ । तपाईंले नचाहँदासम्म पार्टी मिल्न सक्दैन, त्यसैले एकताको निर्णय लिन म आग्रह गर्दछु ।’

विशेष महाधिवेशनले पार्टी कब्जा गरेकाले हामी सातै प्रदेशमा भेला गर्दै छौं । त्यसपछि साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला हुन्छ । यो हाम्रो ‘थ्रेट’ होइन, काम गरेर देखाउने हो ।
प्रकाशमान सिंह
पूर्वउपसभापति
संस्थापनइतरले १४औं महाधिवेशनबाट निर्वाचित सबै कार्यसमितिलाई विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा अटाउनुपर्ने प्रस्ताव अघि सारेको उल्लेख गर्दै खड्काले आफूहरूले पदको बार्गेनिङ नगरेको दाबी गरे । ‘हामीले यसअघि नै सबै पदहरू पाइसकेका छौं, हामीलाई अब कुनै पद चाहिएको छैन,’ खड्काले भने, ‘हामी अन्तिम क्षणसम्म सहमतिका लागि लागिरहन्छौं । तर, आफ्नो आत्मसम्मान त्यागेर समर्पण गर्न सकिँदैन, बरु त्यसका लागि मर्न तयार छौं ।’
पार्टीका अधिकांश नेताले पार्टी एकता चाहेको उल्लेख गर्दै पार्टीका अर्का नेता प्रकाशमान सिंहले अहिलेका सभापति थापाले पार्टी कब्जा गरेको दाबी गरे । यस्तो अवस्थामा देशभरका कार्यकर्ताको मन बुझेर तत्कालका लागि पार्टी फुटबाट बच्ने समय साउन २९ गतेसम्म रहेको सिंहको भनाइ थियो । राष्ट्रिय भेलाका संयोजकको जिम्मेवारीसमेत पाएका सिंहले अबको भेलाबाट ‘वार कि पार’ हुने बताए ।

तपाईं गगन थापा साहसी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस् ।
कृष्णप्रसाद सिटौला
पूर्वमहामन्त्री
‘विशेष महाधिवेशनले पार्टी कब्जा गरेकाले हामी सातै प्रदेशमा भेला गर्दै छौं । त्यसपछि साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला हुन्छ । यो हाम्रो थ्रेट होइन, काम गरेर देखाउने हो,’ सिंहले भने । अघिल्लो कार्यसमितिका प्रवक्तासमेत रहेका नेता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनमा छुटेकालाई केन्द्रीय समितिमा जोड्न आग्रह गरे । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाले असोज १६ बाट काठमाडौंमा १५औं महाधिवेशनको तयारी गरेका छन् । उक्त महाधिवेशन निष्पक्ष हुनेमा संस्थापनइतरको शंका रहेको उनको भनाइ थियो । ‘हामी पार्टीको बृहत्तर एकता चाहिरहेका छौं । यसका लागि १५औं महाधिवेशन निष्पक्ष हुन जरुरी छ । यसका लागि १४औं महाधिवेशनबाट आएका साथीहरुलाई जोडौं, जो विशेष महाधिवेशनमा छुटेका थिए,’ नेता महतले भने ।

पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ ।
डा. शशांक कोइराला
पूर्वमहामन्त्री
त्यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनबाट सभापति बनिसकेकाले गगनले अब सबैलाई एक बनाएर लैजान आँट गर्नुपर्ने सुझाव दिएका थिए । ‘अझै पनि भन्न चाहन्छौं, तपाईं गगन थापा साहसी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ कांग्रेस भन्ने आँट गर्नुस्,’ सिटौलाले भने, ‘तपाईंलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्, तपाईंपट्टी आउन नदिनुस् । यति आँट छैन तपाईंमा ?’

नेपाली कांग्रेस हुकुमी शासनको शैलीमा चलिरहेको मैले महसुस गरिरहेको छु । वडा सभापतिहरुलाई विनास्पष्टीकरण अद्यावधिक किन नगराएको भन्ने नाममा निकालिएको छ ।
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस
अर्का पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एक बनाउने जिम्मा सभापति थापाकै भएको बताए । नभए यसको क्षति थापाले नै ब्यहोर्नुपर्ने कोइरालाको भनाइ थियो । ‘अन्यथा पार्टी एकतामा क्षति तथा पार्टी विभाजनको अवस्थामा पुग्यो भने त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी वर्तमान नेतृत्वले नै लिनुपर्छ,’ कोइरालाले भने ।
पार्टीका अर्का नेता मोहन बस्नेतले भने अब पर्खेर बस्न नसक्ने बताए । पार्टीमा तत्कालै देउवाको नेतृत्वमा समानान्तर समिति बनाउनुपर्ने बस्नेतको तर्क थियो । ‘देउवाको नेतृत्वमा पार्टी बनाउँ । टोलटोलमा समानान्तर समिति गठन गरौं । अब पर्खेर बस्न हुँदैन । गगनसँग सति जान सकिँदैन,’ बस्नेतले भने ।
कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आफूहरुले राष्ट्रिय भेलासम्म कुर्ने र उक्त समयसम्म एकताका लागि पहल नभए नयाँ कार्यदिशामा जाने चेतवनी दिए । ‘निर्वाचन आयोग र सर्वोच्च अदालतले हाम्रो पार्टी फुटाएको छ । राष्ट्रिय भेलासम्म हामी कुर्छौं । त्यो बेलासम्म एकता नभए नयाँ कार्यदिशामा जान्छ,’ निधिले भने ।
कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले सभापति थापा हुकुमी शासक बनेको आरोप लगाए । एकताका लागि सभापति थापाले पहल गर्नुपर्ने नभए गम्भीर रुप लिने कोइरालाको भनाई थियो । ‘नेपाली कांग्रेस हुकुमी शासनको शैलीमा चलिरहेको मैले महसुस गरिरहेको छु । वडा सभापतिहरुलाई विनास्पष्टीकरण अद्यावधिक किन नगराएको भन्ने नाममा निकालिएको छ,’ कोइरालाले भने, ‘सभापतिजीले पहल गर्नुभएन र यसले अर्कै रुप लिए सभापतिले नै जिम्मा लिनुपर्छ ।’
इतरपक्षले गत पुस मसान्तमा सम्पन्न विशेष महाधिवेशन बहिस्कार गरेका केन्द्रीय समितिका सबै नेताहरुलाई गगन नेतृत्वको केन्द्रीय समितिमा समेट्नुपर्ने माग अघि सार्दै आएको छ । गगन नेतृत्वको कांग्रेसले भने यसलाई अस्विकार गर्दै आएको छ ।
पार्टीमा उचित स्थान नदिए नयाँ पार्टी खोल्ने चेतावनी दिँदै आएको संस्थापनइतरले सभापति थापासँग एकताका लागि यसअघि पाँचबुँदे प्रस्ताव अघि सारेको थियो । निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माकाअनुसार पार्टी उपसभापति विश्वप्रकाश शर्मामार्फत देउवापक्षले जेठ १८ गते नै उक्त प्रस्ताव पठाएको हो ।