काठमाडौं- नयाँ पार्टी खोल्ने तयारी गरेको कांग्रेस संस्थापनइतरले सभापति गगन थापासँग एकताको लागि अन्तिम प्रस्ताव अघि सारेका छन् । विशेष महाधिवेशन बहिस्कार गरेको शेरबहादुर देउवा समूहले सभापति थापासँग एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको हो ।
देउवा पक्षले काठमाडौंको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै ती प्रस्तावहरू अघि सारेको हो । ‘पार्टीभित्र विवाद हुँदा पनि एकताकै लागि पहल गरिरहेका छौं । औपचारिक छलफल नभएको अवस्थामा पनि संस्थापन पक्षले टालटुले कुरा गर्दै आएको छ,’ निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने । विश्वकर्माकाअनुसार पार्टी उपसभापति विश्वप्रकाश शर्मामार्फत प्राप्त प्रस्तावहरूमाथि छलफल गरी देउवा पक्षले जेठ १८ गते नै उक्त प्रस्ताव पठाएको हो ।
पार्टी एकताको सम्भावना कमजोर भएको जानकारी गराउँदै साउनभित्रै राष्ट्रिय भेला गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रम व्यवस्थापनका लागि पूर्व उपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरेको विश्वकर्माले बताए । देउवा समूहले साउन ६ गते छुट्टै बिपी स्मृति दिवस मनाउँदै छ । सोही दिन राष्ट्रिय भेलाको मिति घोषणा गर्ने इतरपक्षको तयारी छ ।
पत्रकार सम्मेलनमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महतलगायत शीर्ष नेताहरू सहभागी थिए । पार्टी एकता जोगाउनको लागि भएको पटक पटकको वार्ता नेतृत्वबाट आवश्यक लचकता नहुँदा सहमति जुट्न नसकेको विश्वकर्माको दाबी थियो । भदौ २३ र २४ को जेन-जी विद्रोहपछि विकसित घटनाक्रमसँगै निर्वाचन आयोगको कारण पनि कांग्रेस फुटको संघारमा पुगेको विश्वकर्माले आरोप लगाए ।
के छ पाँच बुँदे प्रस्तावमा ?
देउवा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सबै केन्द्रीय सदस्यलाई अटाउन माग गरेको छ । ‘चौधौँ महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने,’ पहिलो प्रस्तावमा भनिएको छ ।
गत पुसमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन देउवा पक्षले बहिस्कार गरेको थियो । विशेष महाधिवेशन गर्ने भएपछि देउवा पक्षले गगन र विश्वप्रकाश शर्मालाई पाँच वर्षको लागि पार्टीबाट निष्काशनसमेत गरेको थियो । १४ औं महाधिवेशनबाट गगन र शर्मा महामन्त्रीमा निर्वाचित भएका थिए । अहिले गगन सभापति र शर्मा उपसभापति छन् । उक्त कार्यसमितिमा रहेका देउवा र डा शेखर कोइराला समूहका धेरैजसो नेताहरूले विशेष महाधिवेशन बहिस्कार गरेका थिए ।
झन्डै ९० प्रतिशत देउवाको पकडमा रहेको केन्द्रीय समितिको पदाधिकारी अहिले बाहिरै छन् । त्यसैगरी देउवा पक्षले विशेष महाधिवेशनबाट चयन भएका सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति बनाउने दोस्रो प्रस्ताव गरेको छ । विशेष महाधिवेशनबाट निर्वाचत गगन नेतृत्वको कार्यसमितिले अझै कार्यसम्पादन समिति गठन गरेको छैन ।
यसैगरी देउवा पक्षले पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने माग गरेको छ । जबकि गगन नेतृत्वको कार्यसमितिले असोज १६ बाट १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसका लागि क्रियाशील सदस्यता अद्यावधिकसमेत अन्तिम चरणमा पु¥याइसकेको छ । पूर्वउपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक राख्दै आएको देउवा समूहले भने क्रियाशील सदस्यता अद्यावधिकको विरोध गर्दै आएको छ । देउवा समूहले एकताका लागि यो विषयसमेत प्रस्तावमा अटाएको छ ।
‘महाधिवेशनको लागि सबैभन्दा महत्त्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनु पहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने,’ प्रस्तावमा भनिएको छ, ‘डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने नपाउने विषयसँग नजोड्ने ।’
पार्टी एकताका लागि आफ्नो पक्षले हदैसम्मको लचकता अपनाएको तर, संस्थापनले पहिले भएका सहमतिभन्दा फरक कुराहरू बाहिर ल्याएर एकतामा अवरोध सिर्जना गरेको आरोप विश्वकर्माले लगाए ।
जवाफ फर्काउन पत्रकार सम्मेलन गर्दै संस्थापन
कांग्रेस संस्थापन पक्षले एकता प्रस्तावको जवाफ फर्काउन आज पत्रकार सम्मेलन गर्दैछ । ललितपुरको सानेपास्थि पार्टी कार्यालयमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरी यसको जवाफ दिने तयारी रहेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालले बताए । पार्टीका उपसभापति शर्माले यसबारे जवाफ दिने दुलालले बताए । शर्माले पार्टी एकताका लागि देउवा समूहका नेताहरूसँग भेट्दै आएका थिए ।