काठमाडौं - वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु वाणगंगा नगरपालिका-८ घर भएकी ३६ वर्षीया दिलमाया गैरे, भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका २८ वर्षीय सन्देश ढुङ्गाना र कास्की रूपा गाउँपालिका-१ घर भएका ३० वर्षीय बिशाल खवास राना रहेका छन् ।
पक्राउ मध्ये दिलमायाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ, सन्देशले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख रूपैयाँ र विशालले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिलमायालाई काठमाडौं महानगरपालिका-१३ बाट, सन्देशलाई भक्तपुर चाँगुनारायण नगरपालिका-७ बाट र विशाललाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये दिलमायालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सन्देश र बिशाललाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।