काठमाडौं- वरीयताक्रममा १८औं नम्बरमा रहेका गोविन्दबहादुर कार्की मुख्यसचिव भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यसचिव सुमनराज अर्याल उमेर हदका कारण भोलि (असार २६ गते) अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । १८औं वरीयतामा रहेका कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहले मुख्यसचिव बनाएका हुन् । निजामती सेवाका सचिवहरुको वरीयता सूचीमा १८औं स्थानमा रहे पनि महालेखापरीक्षक, सर्वोच्च अदालत, संसद् सचिवलगायतको विशिष्ट श्रेणीका अधिकारीहरुको संयुक्त वरीयतामा कार्की ३६औं नम्बरमा पर्छन् ।
कार्की दुई वर्षअघि २०८१ भदौ तेस्रो सातामात्र सचिवमा बढुवा भएका थिए । वरिष्ठताका आधारमा प्रधानमन्त्री कार्यालयमै कार्यरत किरणराज शर्मा पहिलो नम्बरमा थिए । शर्माले सचिवको पाँच वर्षे पदावधिका कारण साउन ४ गते अवकाश पाउँदै छन् । किरणपछि वरिष्ठताका आधारमा प्रधानमन्त्री कार्यालयमै एक महिनादेखि अतिरिक्त समूहमा राखिएका हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा अगाडि थिए । पाँच वर्षे पदावधिका कारण मैनालीले साउन १९, गोविन्दप्रसादले साउन २४ र डिल्लीरामले भदौ ३ गते अवकाश पाउने छन् ।
गृहसचिव राजकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उद्योग सचिव कृष्णबहादुर राउत, योजना आयोगमा कार्यरत सचिव रविलाल पन्थ, लोकसेवा आयोगमा कार्यरत रामेश्वर दंगाल पनि कार्कीभन्दा वरिष्ठ हुन् । तर उनीहरु सबैलाई छोडेर प्रधानमन्त्री शाहले कार्कीलाई रोजेका हुन् । उनले अहिलेको कानुनी व्यवस्थाअनुसार मुख्यसचिवको रुपमा पूरा कार्यकाल काम गर्न पाउने छैनन् । मुख्यसचिवको कार्यकाल तीन वर्षको रहेकामा कार्कीले ५८ वर्षको उमेर हदका कारण त्यस अगाडि नै अर्थात् २०८५ पुस अन्तिम साता अवकाश पाउने छन् ।
- वरीयताक्रममा १८औं नम्बरमा रहेका गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
- वरिष्ठताका आधारमा प्रधानमन्त्री कार्यालयमै कार्यरत किरणराज शर्मा (पहिलो), हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा र डिल्लीराम शर्मा अगाडि थिए
- कार्की दुई वर्षअघि २०८१ भदौ तेस्रो सातामात्र सचिवमा बढुवा भएका थिए
२०२७ पुस २५ गते भोजपुरमा जन्मिएका कार्की निजामती सेवामा प्रवेश गरेको ३७ वर्षमा मुख्यसचिव बनेका हुन् । उनी २०४६ सालमा खरिदारका रुपमा निजामती सेवामा प्रवेश गरेका थिए । २०५३ पुसमा शाखा अधिकृत बनेका उनी करिब नौ वर्षपछि २०६२ मंसिर १५ गते उपसचिवमा बढुवा भएका थिए । उपसचिवका रुपमा कार्की लमजुङ, भोजपुर, काभ्रेमा स्थानीय विकास अधिकारीका रुपमा खटिएका थिए । २०७० चैत २१ गते सहसचिवमा बढुवा भएर १० वर्ष उनले गृह प्रशासन, अध्यागमनमा अनुभव बटुले ।
डोटी र कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीसमेत बनेका उनले चीनको तिब्बतस्थित ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासमा महावाणिज्यदूतका रुपमा पनि काम गरे । सचिव बनेलगत्ततै बागमती प्रदेशको प्रमुख सचिव बनेका कार्की उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।
प्रधानमन्त्री किन रोजे कार्की ?
वालेन्द्र सरकार गठनलगत्तैको मन्त्रिपरिषद्ले तयार पारेको १०० बुँदे कार्ययोजनाको ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ शीर्षकमा मन्त्रालयको संख्या घटाएर १७ कायम गर्ने उल्लेख थियो । चैत २२ मा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारअन्तर्गतका सबै मन्त्रालय, सचिवालय, आयोग तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको थियो ।
उक्त निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीको नेतृत्वमा छ सदस्यीय पुनर्संरचना व्यवस्थापन सचिवालय बनेको थियो । प्रधानमन्त्री कार्यालयमा बसेर कार्कीले कर्मचारी प्रशासन र सुशासनका विषयमा सरकारलाई सहयोग गरेकाले उनलाई पुरस्कृत गरेको बताइएको छ । यसो त कार्कीलाई मुख्यसचिव बनाउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकहाँ डेलिगेसन जानेको ताँतीसमेत लागेको थियो ।
०८१ भदौ २० गते सचिवमा बढुवा भएका कार्की उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव भएर काम गरेका छन् ।