काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम अब समाप्त भएको घोषणा गर्दै तेहरानसँग थप कुनै सम्झौता गर्ने इच्छा नरहेको बताएका छन् ।अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दाबी सार्वजनिक भएका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
टर्कीको राजधानी अंकारामा जारी नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको स्पष्ट पारे । उनले इरानी नेतृत्वमाथि कडा टिप्पणी गर्दै तेहरानसँग अब वार्ताको कुनै औचित्य नरहेको धारणा व्यक्त गरे ।
ट्रम्पले इरानसँग थप सम्झौता गर्न चाहना नरहेको बताउँदै तेहरानले आणविक हतियार प्राप्त गरे त्यसको प्रयोग गर्न पछि नपर्ने आरोप पनि लगाए । उनले इरानी नेतृत्वलाई अविश्वसनीय र हिंसात्मक प्रवृत्तिको भएको आरोप लगाउँदै आफू अब उनीहरूसँगको वार्तालाई समयको बर्बादी ठान्ने बताए ।
उनले आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुसनर इरानसँग सम्पर्कमा रहे पनि वार्ता पुनः सुरु गर्ने कि नगर्ने निर्णय अब तेहरानकै हातमा रहेको उल्लेख गरे । ट्रम्पले जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको युद्धविरामसम्बन्धी सहमतिलाई इरानले पटक–पटक गलत रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाए ।
उनका अनुसार दुवै पक्षबीच इरानले आणविक हतियार विकास नगर्ने विषयमा सहमति भए पनि इरानले त्यसलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएको छ । ट्रम्पको युद्धविराम समाप्त भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ र यसले मध्यपूर्वको पछिल्लो तनावले विश्व ऊर्जा बजारमा समेत असर पार्न थालेको संकेत गरेको छ ।