एजेन्सी - मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार नेदरल्यान्ड्सको हेगमा आयोजित उच्चस्तरीय शिखर सम्मेलनमा भेला भएका छन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, नाटो महासचिव मार्क रुटे तथा सदस्य राष्ट्रका नेताहरूबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता र युक्रेन युद्ध मुख्य एजेन्डाका रूपमा रहेका छन्।
सम्मेलन सुरु हुनुअघि नाटो महासचिव रुटेले अमेरिकाको नाटोप्रतिको प्रतिबद्धता बलियो रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले पनि रक्षा खर्च बढाएर आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। उनले अमेरिकी प्रशासनले लामो समयदेखि यही अपेक्षा राख्दै आएको बताए।
यसैबीच, अमेरिकी सेनाले इरानका आणविक पूर्वाधारमा आक्रमण गरेपछि मध्यपूर्वमा उत्पन्न तनाव पनि सम्मेलनको प्रमुख चासोको विषय बनेको छ। हर्मुज जलडमरूमध्यको सुरक्षा र क्षेत्रीय अस्थिरताबारे सदस्य राष्ट्रहरूबीच छलफल भइरहेको छ। सम्मेलनमा सहभागी हुन पुगेका राष्ट्रपति ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको सम्बन्धको प्रशंसा गर्दै रक्षा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे। यद्यपि उनले फेरि केही नाटो सदस्य राष्ट्रले पर्याप्त रक्षा खर्च नगरेको भन्दै असन्तुष्टि जनाए।

७७ वर्ष पुरानो नाटो गठबन्धनमा ट्रम्पले सदस्य राष्ट्रहरूले आफ्नो रक्षा बजेट उल्लेख्य रूपमा बढाउनुपर्ने माग गर्दै आएका छन्। नाटोले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार सन् २०२६ मा युरोपेली सदस्य राष्ट्रहरूको रक्षा खर्च ११ प्रतिशतले बढेर ६३४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन अघिल्लो वर्ष ५७१ अर्ब डलर थियो। ट्रम्पसँगको मतभेद कम गर्ने प्रयासस्वरूप केही सदस्य राष्ट्रहरूले अर्बौं डलर बराबरका नयाँ हतियार खरिद सम्झौतासमेत सार्वजनिक गरेका छन्। महासचिव रुटेले यसलाई सहयोगी राष्ट्रहरूले आफ्नो सुरक्षा जिम्मेवारी बढाउँदै गएको सकारात्मक संकेतका रूपमा व्याख्या गरे।
शिखर सम्मेलनमा युक्रेन युद्ध पनि प्रमुख एजेन्डाका रूपमा रहेको छ। ट्रम्पले युद्धरत दुवै पक्ष वार्तामार्फत समाधान खोज्न इच्छुक रहेको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने र त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संवाद गर्ने योजना रहेको बताएका छन्। युरोपेली राष्ट्र र क्यानाडाले सन् २०२६ र २०२७ मा युक्रेनलाई वार्षिक ७० अर्ब युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
यसबीच ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा हुनुपर्ने आफ्नो पुरानो धारणा पुनः दोहोर्याएका छन्। त्यसको जवाफमा डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारेकी छन्। ट्रम्पले सम्मेलनका क्रममा सिरियाका राष्ट्रपति अहमद अल–शारासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ। गृहयुद्धपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुनःस्थापित गर्ने प्रयासमा रहेको सिरियाका लागि उक्त भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
त्यसैगरी, टर्कीसँगको रक्षा सहकार्यबारे सकारात्मक संकेत दिँदै ट्रम्पले अङ्कारामाथि लगाइएका अमेरिकी प्रतिबन्ध हटाउने तथा एफ–३५ लडाकु विमान बिक्रीको सम्भावनाबारे विचार गरिने बताएका छन्। सन् २०१९ मा रूसबाट एस–४०० रक्षा प्रणाली खरिद गरेपछि टर्की एफ–३५ कार्यक्रममा सहभागी हुनबाट रोकिएको थियो। राष्ट्रपति एर्दोगनले दुई देशबीचको रक्षा सम्बन्धमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन्।