बेरुत- युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिकाहरू अध्यययनरत रहेका लेबनानका विद्यालयहरु आगामी सेप्टेम्बर सम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर्ष नै खेर जाने तथा हराउने जोखिम रहेको संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) जनाएको छ । युनिसेफ र लेबनानको शिक्षा मन्त्रालयले हालैको मध्यपूर्व द्वन्द्वबाट विभिन्न क्षेत्र लगायत लेबनानको शिक्षा क्षेत्रमा व्यापक क्षति भएको बताए पछि यो चेतावनीसहितको विज्ञप्ती जारी भएको हो ।
विद्यालय र व्यावसायिक केन्द्रहरूसहित ३४० वटा प्रभावित शैक्षिक संस्थाहरूको पहिचान गरिएको छ, जसमा १७ वटा पूर्ण क्षती भएका छन् र अन्य धेरैलाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्नका लागि पुर्ण मर्मत सम्भार आवश्यक छ । बालबालिकाहरु लामो समय सम्म विद्यालय बाहिर रहदा बालश्रम र चाँडै विवाह जस्ता जोखिमहरू बढ्न सक्ने चेतावनी युनिसेफले दिएको छ । युनिसेफले थप कोषका लागि सार्वजनिक आह्वान गर्दै क्षतिग्रस्त विद्यालयहरूको यथासिग्र पुनःस्थापना गरी सिकाइलाई निरन्तरता दिन स्थानीय अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएको छ ।