तानसेन - पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख सिडिई कृष्णराज अधिकारीले बताए ।
विसं २०२८ मा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण गरिएको हो । हाल सञ्चालनमा रहेको ९३ मिटर लामोस्टिल पुलभन्दा केही तल १२३ मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ । पैदलयात्रुका लागि फुटपाथसहित ११ मिटर चौडाइ रहने पुल ४० टन भारवहन क्षमता हुनेछ । सडक विभागअन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढाइएको पुल ‘सिएएफएसआरआई स्टिल ट्युब आर्क’ प्रविधिमा निर्माण भइरहेको छ ।
विसं २०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग २०७९ असार ३० गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । करिब २७ करोड ७१ लाख नौ हजार रुपैयाँ लागत निर्माण सम्झौता रहेको १२० मिटर पुलमा लम्बाइको पुलमा पछि तीन मिटर थप गरिएको आयोजना प्रमुख अधिकारीले बताए ।
ठूला भारवहन क्षमताका सवारीसाधन राम्दीको हालको पुलमा सञ्चालन हुन नसक्दा मालसामान ढुवानीमा कठिनाइ भएको थियो । नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सामन ढुवानीकर्ता, उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन भएको पाइएको छ । राम्दी क्षेत्र आफैँमा व्यापारिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।