काठमाडौं- सरकारले नेपालको कूटनीतिलाई आर्थिक रूपान्तरणसँग जोड्दै विदेशस्थित कूटनीतिक नियोगहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि साझेदारी प्रवर्द्धनमा केन्द्रित गर्ने नीति अघि बढाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान सरकारले परिणाममुखी विकास कूटनीतिलाई प्राथमिकतामा राखेको बताएका हुन्।
उनले विदेशस्थित नेपाली नियोगहरू परम्परागत कूटनीतिक भूमिकाभन्दा अघि बढेर आर्थिक कूटनीति, बजार पहुँच विस्तार, लगानी आकर्षण तथा पर्यटन प्रवर्द्धनमा सक्रिय रूपमा परिचालित भइरहेकाे बताएका छन्। मन्त्री खनालले परराष्ट्र नीतिको अन्तिम उद्देश्य जनताको समृद्धि, कल्याण र आकाङ्क्षा पूरा गर्नु रहेको उल्लेख गर्दै कूटनीतिक संयन्त्रलाई आर्थिक विकाससँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
विश्वव्यापी शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै उनले आर्थिक साधन, आपूर्ति शृङ्खला, रणनीतिक पूर्वाधार, कृत्रिम बुद्धिमत्ता र डिजिटल अर्थतन्त्रले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूप परिवर्तन गरिरहेको बताए। यस्ता परिवर्तनले नेपालजस्ता विकासोन्मुख मुलुकका लागि चुनौतीसँगै नयाँ अवसर पनि सिर्जना गरेको उनको भनाइ छ।
बहुपक्षीय प्रणालीमाथि दबाब बढ्दै गए पनि अन्तर्राष्ट्रिय सहकार्य, प्रविधि हस्तान्तरण, सम्पर्क सञ्जाल विस्तार तथा आर्थिक साझेदारीका नयाँ सम्भावना खुलिरहेको उल्लेख गर्दै मन्त्री खनालले नेपालले बदलिँदो विश्व परिवेशलाई स्पष्ट रणनीति, आत्मविश्वास र विवेकपूर्ण कूटनीतिका साथ उपयोग गर्नुपर्नेमा जोड दिए।
उनले विकसित हुँदै गएका अन्तर्राष्ट्रिय यथार्थअनुसार नेपालको परराष्ट्र नीतिलाई समयानुकूल बनाउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढाइने पनि स्पष्ट पारे।