काठमाडौं - डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाले कर्णालीको विकासमा नयाँ आधार तयार गरेकाे छ । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाले विद्युत् उत्पादनसँगै कर्णाली प्रदेशको आर्थिक–सामाजिक विकास, पूर्वाधार विस्तार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको जगदुल्ला हाइड्रोपावर कम्पनीले जनाएको हाे।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा आयोजना निर्माण भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले बताएका छन् ।
कम्पनीले डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा १०६ मेगावाटको जगदुल्ला आयोजना र १२४.३५ मेगावाटको जगदुल्ला–ए आयोजना गरी कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। आयोजनाअन्तर्गत भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डमा ट्रयाक खोल्ने तथा १० वटा बेली ब्रिज निर्माण भइसकेका छन्।
कम्पनीका अनुसार यी पूर्वाधारले स्थानीयको यातायात पहुँच सहज बनाउनुका साथै डोल्पाको पर्यटन र आर्थिक गतिविधिलाई समेत गति दिएको छ। मुख्य आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन, जग्गा अधिग्रहण, विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) र वित्तीय व्यवस्थापन सम्पन्न भइसकेको छ। २०८२ साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएपछि आयोजनाको भौतिक निर्माण कार्य औपचारिक रूपमा सुरु भएको हो।
आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकार र स्थानीय तहले जनही ९ करोड ५० लाख रुपैयाँ रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ। कम्पनीमा सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको ५१ प्रतिशत तथा सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ। आयोजनाको करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको कम्पनीले जनाएको छ।