गण्डकी- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८/८४ को बजेट कार्यान्वयनमा स्रोतको कमी नहुने स्पष्ट पारेका छन् । प्रदेशसभाको आजको बैठकमा बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थ र कार्यान्वयनयोग्य बजेट ल्याइएको बताएका हुन् ।
“स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन”, उनले भने । तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको मुख्यमन्त्री पाण्डेले बताए । नागरिकका माग र आवश्यकतालाई बजेटमा अधिकतम रूपमा सम्बोधन गर्ने प्रयत्न गरिएको उनको भनाइ छ । प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको जनाउँदै उनले आगमी दिनमा पनि प्रशासनिक खर्च कटौती र मितव्ययिता कायम गरिने बताए । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनलगायत विविध कारणले चालु आवमा प्रदेश सरकारको कार्यप्रगति अपेक्षित रूपमा हुन नसकेको उनको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि सङ्घ सरकारसँग समन्वय गरिने बताए। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्र्तराष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ । बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट प्राप्त सुझाव, सल्लाह र जिज्ञासालाई प्रदेश सरकारले आत्मसात गर्ने मुख्यमन्त्री पाण्डेले बताए। आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले यही असार ५ गते प्रदेशसभामा प्रस्तुत गरेका आगामी आवको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि समग्र बजेटबारे मुख्यमन्त्री पाण्डेले आफ्नो भनाइ राखेका हुन्।

आजको बैठकको विशेष समयमा पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्वबारे चर्चा गरेका थिए। बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले सम्बन्धित मन्त्रालयको विनियोजन शीर्षकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नमा जवाफ प्रस्तुत गरेका थिए । गण्डकी प्रदेश सरकारले यही असार १ गते ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।