नेपालगन्ज- यहाँका पर्यटन व्यवसायीले नेपालगन्ज-दिल्ली सिधा उडानका लागि प्रयास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष अनुरोध गरेका छन् । नेपालगन्ज विमानस्थलको अनुगमनमा आउनुभएका मन्त्री पौडेलसँग पर्यटन व्यवसायीले अधिकभन्दा अधिक पर्यटक नेपाल भित्र्याउन नेपालगञ्ज र नयाँदिल्ली हवाई मार्गबाट जोडिन अपररिहार्य भएको बताएका हुन् ।
नेपालगञ्ज-पोखरा उडान बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित भएको गुनासो गर्दै उनीहरूले विदेशी पर्यटकमाथि लागू गरिएको हवाई भाडादरको विभेद अन्त्य गर्न आग्रह गरेका थिए । मुलुकको पर्यटन प्रवर्द्धदन गर्न वर्तमान सरकार क्रियाशील रहेको मन्त्री पौडेलले बताए। उनले नीतिगत सुधारका माध्यमबाट विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन उद्योगको विकाका लागि हरसम्भव प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गरे।
फरक प्रसङ्गमा उनले नेपाल पर्यटन बोर्डलाई समयानुकूल पुनर्संरचना गर्न आवश्यक भएको बताए । नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी तथा पर्यटन व्यवसायी देवानन्द अर्याललगायत पर्यटन उद्यमीले पश्चिम नेपालका पर्यटनका सम्भावना र समस्याबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए ।