काठमाडौं- चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल गरेको छ । सरकारको दैनिक बजेटरी हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार शुक्रबारसम्म ११ खर्ब १२ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । बाँकी दिनमा तीन खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गर्नुपर्नेछ । त्यसका लागि दैनिक करिब १९ अर्ब ३४ करोड रुपैयाँ बराबर संकलन गर्नुपर्ने हुन्छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार, कर राजस्व संकलनतर्फ लक्ष्यको ७६ दशमलव २० प्रतिशत प्रगति भएको छ । कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म १० खर्ब १० अर्ब १६ करोड रुपैयाँ तीन लाख संकलन भएको छ ।
त्यस्तै गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा हालसम्म एक खर्ब दुई अर्ब ३२ करोड ४३ लाख रपैयाँ प्राप्त भएको छ । यस्तै, अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म २४ अर्ब ११ करोड १२ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ । जुन लक्ष्यको ४५ दशमलव ११ प्रतिशत बराबर हो ।
सो अवधिमा अन्य प्राप्ति शीर्षकमा छ अर्ब ५० करोड ५३ लाख रुपैयाँ संकलन भएको छ । यससँगै सरकारको कुल प्राप्ति ११ खर्ब ४३ अर्ब १० करोड ११ लाख रुपैयाँ पुगेको छ । जुन वार्षिक लक्ष्यको ७४ दशमलव ५४ प्रतिशत हो । यस्तै, कूल सरकारी खर्चतर्फ १४ खर्ब चार अर्ब ९८ करोड ८६ लाख रुपैयाँ बराबर पुगेको छ । यो कूल लक्ष्यको ७१ दशमलव ५३ प्रतिशत हो । शुक्रबार मात्रै पाँच अर्ब ३६ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ ।
खर्चको प्रकृतिअनुसार चालु तर्फ ८० दशमलव ४२ प्रतिशत रहेको छ । कूल ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको लक्ष्यमध्ये नौ खर्ब ४९ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ खर्च भइसकेको छ । विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ एक खर्ब ४२ अर्ब २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । जुन लक्ष्यको ३४ दशमलव ८७ प्रतिशत हो । चालु आवका लागि चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य तय गरिएको थियो ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फको खर्च ८३ दशमलव ४१ प्रतिशत पुगेको छ । वित्तीय व्यवस्था विभिन्न ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि खर्च गरिन्छ । वित्तीय व्यवस्थातर्फ कूल तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ लक्ष्य मध्ये तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।