चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भए पनि बन्द सत्र भने निर्धारित समयमै सुरु हुन नसक्दा कार्यतालिका प्रभावित भएको छ।
सोमबार बिहान ८:३० बजे सुरु गर्ने तय गरिएको बन्द सत्र निर्धारित समयमा सञ्चालन हुन सकेन। बन्द सत्र सुरु गर्ने भनिएको समय बितेको आठ घन्टाभन्दा बढी भइसक्दा पनि कार्यक्रम प्रारम्भ हुन नसकेको हो।
महाधिवेशनको कार्यतालिकाअनुसार बन्द सत्रको सुरुवात सभापतिले गर्ने कार्यक्रम थियो। त्यसपछि अनुशासन समितिको प्रतिवेदन, पार्टीको प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान अनुमोदन, अर्थ–राजनीतिक प्रस्तावना तथा सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने योजना बनाइएको थियो। साथै अन्तरिम व्यवस्थापन समिति गठन गरी दिउँसो १:२५ बजेसम्म बन्द सत्र सम्पन्न गर्ने तालिका तय गरिएको थियो।
रास्वपाले नास्तापछि बन्द सत्र सुरु गर्ने तयारी गरे पनि बिहानको खाना र दिउँसोको खाजा खाने समयसम्म पनि बैठक प्रारम्भ हुन सकेन। यसले महाधिवेशनका आगामी कार्यक्रमहरू समेत प्रभावित हुन सक्ने देखिएको छ। बन्द सत्र ढिलाइ हुनुको कारणबारे पार्टी नेतृत्वले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। प्रतिनिधिहरू भने सत्र सुरु हुने प्रतीक्षामा रहेका छन्।