काठमाडौं - नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको छ । गत वर्षभन्दा यस वर्ष तीन दिन ढिला हुँदा पनि मनसुन भित्रिन सकेको छैन ।जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले नेपालमा मनसुन सरदर जुन १३ मा प्रवेश गर्ने भए अझै केही दिन ढिला हुने जानकारी दिएका हुन् ।
मौसमविद् पोखरेलले भू-उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा नेपालमा मनसुन सुरु हुन केही दिन ढिला हुने सम्भावना रहेको जानकारी दिए । नेपालमा हाल कोशी, बागमती र गण्डकी प्रदेशका साथै हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहितको मध्यम वर्षा भइरहेको छ ।
“हाल प्रशान्त महासागरमा एलनिनो विकसित भइसकेको र अझै बलियो हुने क्रममा रहेको छ । जसले गर्दा नेपालको मनसुन आगमनमा समेत प्रभाव पर्ने र दक्षिण एसियालगायत नेपालको मनसुन कमजोर हुनसक्ने सम्भावना देखिएको छ”, उनले भने ।विगतमा सन् १९७२, १९८२, १९८३, १९८७, १९९२, १९९७, सन् २००२, २००९ २०१६, २०१९ र २०२३ मा पनि मनसुन ढिला प्रवेश भएको थियो ।