काठमाडाैं - परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्सांकनको काम बाँकी रहेको बताएका छन्।राष्ट्रियसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले ऐतिहासिक सुगौली सन्धिको आधारमा सीमा निर्देशित रहेको र बाँकी क्षेत्रमा प्राविधिक कार्यहरू भइरहेको जानकारी दिएका हुन् ।
मन्त्री खनालले हालको नेपाल-भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित रहेको तथ्यलाई पुनः स्मरण गराए। उनका अनुसार मुलुकका अन्य केही स्थानमा भने नक्सांकनभन्दा पनि दशगजा अतिक्रमण र सीमा पारबाट भएको कब्जा (क्रस बोर्डर अकुपेसन) सम्बन्धी समस्याहरू मुख्य चुनौतीका रूपमा रहेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा उठाएको सीमासम्बन्धी विषयमा प्रष्टीकरण दिँदै मन्त्री खनालले ती चासोहरू मूलतः दशगजा क्षेत्रको अतिक्रमणसँग सम्बन्धित रहेको बताए। ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ,’ मन्त्री खनालले भने, ‘नेपाल-भारत सिमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा मात्रै नक्सांकन हुन बाँकी रहेको हो।’
दुई देशबीचको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरकारले विभिन्न तहमा पहल गरिरहेको उनले सदनलाई जानकारी दिए। नक्सांकन नभएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, पुराना स्तम्भहरूको मर्मतसम्भार, दशगजा क्षेत्रको अतिक्रमणको वस्तुगत तथ्यांक संकलन र सीमा पारको अतिक्रमणको अभिलेखीकरण गर्ने काम तीव्र पारिएको उनको भनाइ छ।
मन्त्री खनालले लामो समयदेखि निष्क्रिय रहेको सीमासम्बन्धी प्राविधिक समितिको काम पुनः सक्रिय भएको जानकारी दिए। उनका अनुसार नेपाल र भारतका संयुक्त प्राविधिक टोलीहरू हाल सीमा क्षेत्रमा परिचालन भई संयुक्त रूपमा लगत संकलन र प्राविधिक अध्ययनको काम गरिरहेका छन्।यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले सीमा अतिक्रमण र दशगजाको सुरक्षाबारे सदनको ध्यानाकर्षण गराएका थिए।
परराष्ट्रमन्त्री खनालले सुस्ता र कालापानी बाहेकका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न कूटनीतिक र प्राविधिक दुवै माध्यमबाट काम भइरहेको बताएका छन् ।सरकारले सीमा सुरक्षा र राष्ट्रिय अखण्डताका विषयमा कुनै सम्झौता नगर्ने अडान समेत सो अवसरमा व्यक्त गरिएको थियो।