काठमाडाैं - पर्यटकीय नगरी पोखरास्थित रुपाकोट रिसोर्टमा नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशको नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि सुशील कुमार गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनील श्रेष्ठ, उपाध्यक्षमा पुरुषोत्तम पौडेल, सचिवमा केशव पराजुली, सहसचिवमा दिलीप केसी र कोषाध्यक्षमा तारानाथ आचार्य चयन भएका छन् । सदस्यहरूमा अर्जुन गिरी, विनोद केसी, आस्विन ढुंगाना, सुदीप कँडेल र जीवन खत्री निर्वाचित भएका छन् ।
संघका निवर्तमान अध्यक्ष मनोहर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष रघु त्रिपाठीले गरेका थिए । सो क्रममा अध्यक्ष त्रिपाठीले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै मोबाइल व्यवसायीहरूको हकहित संरक्षण र बजार व्यवस्थापनमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।
उनले अवैध रूपमा भित्रिने मोबाइल नियन्त्रणका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रभावकारी रूपमा लागू गर्न सरकारसँग माग गर्दै यसले राजस्व चुहावट रोक्न सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा पूर्वअध्यक्ष दिनेश चुल्याद्योले गण्डकी प्रदेश समितिको कामको प्रशंसा गर्दै व्यावसायिक एकता कायम राख्न बताएका छन् ।