काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा सहभागी हुन उपत्यकाबाहिर गएपछि आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको हाे ।
आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो ।साथै उपसमिति गठन गर्ने तयारी थियो ।
समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवम् निकायहरूको कामकारवाही अध्ययन एवम् निगरानी उपसमिति गठन गर्न लागेको छ ।
साथै, समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने तयारी समितिको छ ।तर, शुक्रबार बैठक बस्न नै सकेन ।