- रास्वपा सांसदहरु आफ्नै मन्त्री भेट्न नपाउँदा प्रधानमन्त्रीको सचिवालय पुगेर रोइकराई गर्छन्
- पार्टी प्रस्ट रुपमा तीन चिरामा देखिसक्दा पनि केही बोल्न नपाउँदा उकुसमुकुस सुनिन्छन्
- सरकारमा प्रधानमन्त्री वालेन्द्र शाहको ‘वान मेन शो’ शैलीले न त मन्त्रीले काम गर्न सकेका छन् न त कर्मचारीले नै
काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भित्र असन्तुष्टि चुलिन थालेको छ । प्रधानमन्त्री वालेन्द्र शाह बालेन नेतृत्वको सरकारको कार्यशैलीका कारण पार्टीभित्र असन्तुष्टि चुलिन थालेको हो ।
बालेन नेतृत्वको मन्त्रिपरिषद्का अधिकांश सदस्यहरुले आफ्नै सांसदहरुलाई मन्त्रालयमा पहुँच नदिँदा असन्तुष्टि चुलिँदै गएको एक सांसदले बताए । ‘हिजोआज हाम्रा सांसदहरु आफ्नै मन्त्री भेट्न पाउँ भन्दै प्रधानमन्त्रीको सचिवालय धाउँछन् । मन्त्रीले फोन उठाएनन् भनेर आँशु झार्छन्,’ रास्वपाका एक सांसदले भने ।
चैत १३ गते सरकारको नेतृत्व सम्हालेका शाहले आफ्नै सचिवालयमार्फत धेरैजसो मन्त्रालय सञ्चालन गर्दै आएका छन् । प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहमार्फत प्रधानमन्त्री शाहले सबैजसो मन्त्रालयमा आफ्नो दबदबासमेत राखेका छन् । यही कारण अहिले रास्वपाका सांसदहरु उकुसमुकुस हुन थालेका हुन् । ‘बोल्न कतै पाइँदैन । नयाँ भनेर आएको सरकारको काम प्रभावकारी रुपमा कतै देखिएको छैन । यसले हामीलाई निकै असहज हुन थालेको छ,’ अर्का सांसदले भने । यसरी असन्तुष्टि पोख्ने अधिकांश सांसद सभापति रवि लामिछाने समूहका हुन् ।
प्रधानमन्त्री शाहले अर्थबाहेक महत्वपूर्ण मानिने गृह र रक्षा मन्त्रालय आफू मातहात राखेका छन् । यसैगरी प्रविधि तथा नवप्रवर्तन विषयको मन्त्रालयसेत शाहले आफू मातहात ल्याएका छन् । यसरी शक्ति बटुलेका प्रधानमन्त्री शाह गुटबाट १५ सदस्यीय सरकारमा उनीसहित ८ जना मन्त्री छन् । शाह गुटमा प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल, पूर्वाधार विकास मन्त्री सुनील लम्साल, सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, युवा, श्रम तथा रोजगार रामजी यादव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी सरकारमा छन् ।

बालेन मन्त्रिपरिषद्मा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलमात्र सभापति लामिछाने गुटकी हुन् । बाँकी मन्त्रीहरुमा परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी अर्थमन्त्री वाग्ले गुटको बताइन्छ । सरकार गठन भएको दुई महिना नपुग्दै रास्वपामा स्पष्ट तीन धार देखिएको हो । यसले सरकारको कार्यसम्पादनमा समेत अवरोध पुगिरहेको रास्वपा सांसदहरु बताउँछन् । ‘सरकार सञ्चालनको केही अनुभव छैन । सचिवालयले मन्त्रालय चलाउन खोज्दा कर्मचारीले टेर्दैनन् । कर्मचारीले रिस्क लिँदा कारबाहीमा परिने डरले काम अघि बढ्न सकेको छैन,’ रास्वपाका सांसदले भने ।
सरकारका अधिकांश कामहरुमा प्रधानमन्त्री शाहको सचिवालयको प्रत्यक्ष हस्तक्षेप हुन थालेसँगै सभापति लामिछाने पक्षका सांसद, पदाधिकारी र केन्द्रीय सदस्यहरु असन्तुष्ट हुन थालेका छन् । बालेनले आइतबार संसदमा प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्तिका कारण पार्टीभित्रको असन्तुष्टि सतहमा आउन थालेको नेताहरु बताउँछन् । गत पुसमा भएको ७ बुँदे सहमति अनुसार बालेन रास्वपाको तर्फबाट संसदीय दलको नेता चयन हुँदै प्रधानमन्त्री बनेका थिए भने रवि लामिछानेले पार्टीको कमान्ड सम्हालेका थिए ।
तर, सरकार गठन भएको दुइ महिना बितिसक्दा पनि बालेनले ‘काठमाडौंको मेयर’ हुँदाकै शैलीमा सीमित सल्लाहकारहरूको घेरामा मात्र बसेर एकलौटी निर्णय गर्ने प्रवृत्ति नछाडेको रास्वपा नेताहरूको आरोप छ । प्रधानमन्त्रीको ‘वन-म्यान शो’ कायमै रहे रास्वपाले ‘राइट टु रिकल’ वा संसदीय दलको नयाँ निर्णयमार्फत नेतृत्व परिवर्तन गर्ने वा सरकारलाई कडा दलीय अंकुशभित्र ल्याउनेजस्ता अन्य विकल्पमा छलफल चलाउने तयारी भित्रभित्रै शुरु गरेको छ ।
यता सभापति लामिछानेको भारत भ्रमणले रास्वपाभित्र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह समूहभित्र तरंग पैदा भएको बताइन्छ । प्रधानमन्त्री शाहलाई भन्दा पनि सभापति लामिछानेलाई भारतले मेजमानी दिएको हुनाले शाहको सचिवालयमा यस विषयमा छलफल हुन थालेको हो । कतिपयले लामिछाने भारतबाट फर्केपछि सरकार हेरफेरको कसरत शुरु हुने चर्चासमेत गरेका छन् । यद्यपि रास्वपाले असारको ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन तय गरेको छ । उक्त महाविधेशन सकिएपछिमात्र सभापति लामिछानेले सरकार हेरफेरको कसरत गर्ने बताइएको छ ।
जेठ १८ गते भारत भ्रमणमा निस्किएका लामिछाने आज काठमाडौं आइपुग्नेछन् । भोलि नै सरकारका परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्री शाहको दूत बनेर दिल्ली जाँदैछन् । यसअघि खनालको भारत भ्रमण रद्द भएको थियो । सभापति लामिछाने भारत भ्रमणमा निस्केकै दिन भारत भ्रमण्का कार्यतालिका भए पनि खनाल सहभागी हुने भनिएको कार्यक्रम रद्द भएको थियो ।
भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि दिल्ली जान लागेका खनालले नेपाल-भारतबीचका विभिन्न सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल गर्ने बताइएको छ । उनले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि पनि पहल भए पनि निश्चित भइनसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।