काठमाडाैंं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् । महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले पार्टी परित्यागगरेको घोषणा गरेका हुन् ।
शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् ।राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।
बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।
जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।
विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको विज्ञप्तिमा लेखिएको छ । स्वेच्छाचारिताको नियमन गरेर जवाफदेहीता स्थापित गर्ने प्रयासहरू हुँदा नेता कार्यकर्ता माथि निरंकुश शैलीमा कारवाही गरिरएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
पार्टी पत्यिाग गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजसंस्था पूनर्स्थापनाका आन्दोलनहरू पटकपटक तुहाउन मूल अगुवा नै अग्रसर भए जबकि संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटै पनि प्रस्ताव दर्ता गरिएन ।’