- राष्ट्रपति, वर्तमान प्रधानमन्त्रीदेखि चुनावी सरकारका प्रधानमन्त्री कार्कीसम्मलाई गाली
- राष्ट्रपति रामचन्द्र पौडेल ‘रबर स्ट्याम्प’ बनेको आरोप
- प्रधानमन्त्री शाहले संसद्बाट राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै पोखे आक्रोश
- फागुन २१ को प्रतिनिधिसभा निर्वाचन ‘नाटक’ मात्रै भएको दाबी
- कार्की आयोगलाई बयान नै नदिएको र सम्पत्ति छानबिन आयोगलाई समेत बयान नदिने अडान
- सम्पत्ति विवरण भर्न अस्वीकार, खरानी टिपेर लैजान सरकारलाई आग्रह
- मानवअधिकार आयोगको प्रतिवेदन आफूलाई फसाउनमात्र तयार पारिएको जिकिर
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारदेखि सुशीला कार्की नेतृत्वको सरकारसँग आक्रोशित सुनिएका छन् । निर्वाचनपछि प्रहरी नियन्त्रणमासमेत परेका ओलीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री वालेन्द्र शाहसम्मलाई आक्रोश पोखे ।
फागुन २१ गतेको निर्वाचनपछि झण्डै निरीह देखिएका ओली बुधबार बबरमहलमा सुरु भएको पार्टीको दुईदिने ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशाला’को उद्घाटनमा पुरानै शैलीमा उत्रिएका हुन् । ओलीले पार्टीभित्र आफ्नो विकल्प खोज्नेदेखि अन्तरिम सरकारकोसमेत आलोचना गरे । डेढ घण्टाको मन्तव्यमा ओली पुरानै शैलीमा निकै आक्रोशित सुनिएका थिए ।
राष्ट्रपति पौडेलमाथि ‘रबर स्ट्याम्प’को आरोप
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले राष्ट्रपति राचन्द्र पौडेल जेन-जी विद्रोहपछि ‘रबर स्ट्याम्प’ बनेको आरोप लगाए । ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधानविपरीतको प्रधानमन्त्री बन्छ, संविधानविपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि, सम्माननीय राष्ट्रपतिजी भन्नुहुन्छ- बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर । अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबर स्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो, संविधानको रक्षक र पालकको हैसियतमा, त्यो नगरेर जुन चिज नगर्नु पर्ने हो, त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यूले गर्नुभएको छ,’ ओलीले भने । जेन-जी विद्रोहपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन भएको बेला राष्ट्रपति पौडेलले बडो जुक्ति लगाएर संविधान जोगाएको बताएका थिए ।
प्रधानमन्त्री शाहमाथि ‘देशद्रोही’ को आरोप
अध्यक्ष ओलीले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा देशद्रोही कुरा राखेको आरोप लगाए । नेपालले भारतको सीमा मिचेको धारणा राखेको विषयमा ओली असन्तुष्ट सुनिएका हुन् । ‘उहाँ (प्रधानमन्त्री)ले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भन्नुभयो । के इमरजेन्सी थियो ? कुनै इमरजेन्सी हुन सक्दैन । बचपना, लापरवाही र अहंकार हो । उहाँले नेपालले भारतको धेरै ठाउँमा सीमा मिचेको भनेर भन्नुभयो । धेरै ठाउँमा होइन, एक ठाउँमा पनि मिचेको छैन,’ ओलीले भने, ‘सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट बोल्नुहुँदैनथ्यो । नेपालको विपक्षमा बोल्ने काम भयो । त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन ।’

नेपालको सीमा समस्या समाधान गर्न तेस्रो पक्षलाई सहभागी गराउने कुनै नीति नै नभएको ओलीको तर्क थियो । ‘हाम्रा छिमेकीहरूसँगको छलफलमा दुई पक्षीय हिसाबले समाधान गर्छौं । तेस्रोपक्ष सहभागी गराउँदैनौं । प्रधानमन्त्रीले भने यो नेपालको नीति हो भनेर, नेपाल तपाईंको घरको सम्पत्ति होइन । तपाईं जन्मिनुभन्दा धेरै अगाडिको देश हो,’ ओलीले भने । अहिलेको सरकार उत्ताउलो भएको उल्लेख गर्दै ओलीले अराजकतन्त्र समयको पाहुनामात्र भएको बताए । ‘समय परिस्थिति सधैँ एकैनासको हुँदैन, उत्ताउलिएर धेरै अघि नबढ्नुहोला । राणाशासन, पञ्चायती तानाशाही, राजतन्त्र ढले, अनेक तन्त्र ढले, यो अराजकतन्त्र कति समयको पाहुना हो । लामो समय चल्न सक्दैन,’ ओलीले भने ।
निर्वाचन ‘नाटक’ भएको तर्क
ओलीले फागुन २१ गतेको निर्वाचन केवल नाटकमात्र भएको तर्क गरे । ‘हामीले चुनावमा भाग नलिने सही नीति लिएका थियौं । तर अरू पार्टीले बुझ्न नसक्दा चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । र, यो परिणाम पूर्वनिर्धारित थियो । यही परिणामका लागि चुनाव गराइएको थियो । हाम्रो पार्टीले यो कुरा बुझेको थियो । अरू पार्टीहरूले साँच्चै चुनाव हुँदै छ भन्ने ठाने । साँच्चैको चुनाव होइन,’ ओलीले भने ।
उनले चुनावी परिणामको विषय अनुसन्धान गर्नुपर्ने बताए । ओलीले थपे, ‘चुनावमा प्रयोग गरिने मसी सधैँ यहाँ लगाएपछि त्यो नङ बढ्दै गएर नङ काटेर फाल्नुपथ्र्यो । यसपल्ट भक्तपुरमा नजिकै, नजिकै बुथबाट भोट हालेर रङ लगाएर गएको, घर पुग्दा अघि नै रङ उडिसक्या छ । ब्यालेट पेपरमा के भयो होला त्यो रङहरु यी छानबिनका विषय हुन्, खोजीका विषय हुन् । भोलि पत्ता लाग्न सक्छ ।’
उनले आफूहरू पहिलोपटक चुनाव लडेका नभएकाले सबै आकलन गर्नसक्ने बताए । उनले लगभग अधिकांश मतदाता चिनेको जिकिर गरे । ‘हामीले यस परिणामलाई स्वीकारेर संसद्मा सहभागी भइरहेका छौं, काम गरिरहेका छौं । राष्ट्रियताको पक्षमा लडिरहेका छौं, लोकतन्त्रको पक्षमा लडिरहेका छौं, शान्ति सुव्यवस्था र विकास यी चिजहरूको पक्षमा लडिरहेका छौं । तसर्थ हामीले परिणाम स्वीकारेका छौं,’ ओलीले भने ।
कार्की आयोगलाई बयान नदिएको दाबी
अध्यक्ष ओलीले आफूले गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बयान नदिएको दाबी गरे । तर आयोगले बयान दिएको भनेर छापेको भन्दै त्यो आयोगले आफ्नो इज्जत गरेको हुनसक्ने बताए । अध्यक्ष ओलीले सम्पत्ति छानबिन आयोगलाई समेत आफूले बयान नदिने पनि बताएका छन् ।
जेन-जी विद्रोहमा आफ्नो घर जलेको उल्लेख गर्दै घर जलिसकेपछि सम्पत्ति विवरण भर्ना लगाएकोमा ओलीले आक्रोश व्यक्त गरे । ‘यो राज्यद्रोह हो, विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ । आगो लगाएर खरानी बनाएर पुगेन सम्पत्ति विवरण ?,’ ओलीले आक्रोशित हुँदै भने, ‘सम्पत्ति विवरण छानबिन गर्ने भए खरानी उठाएर लैजानू ।’
मानवअधिकार आयोगको प्रतिवेदनमाथि पनि प्रश्न
हालै सार्वजनिक भएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा ओलीकै कारण भदौ २३ र २४ को जेन-जी विद्रोह भएको निचोड निकालिएको छ । आयोगको प्रतिवेदन पनि आफूलाई फसाउनमात्र तयार पारिएको ओलीको दाबी थियो । ‘मानवअधिकार आयोगले एउटा समिति बनायो । तर त्यसको प्रतिवेदन लामो समय सार्वजनिक भएन,’ ओलीले भने, ‘छानबिन समितिका अध्यक्षले अब पनि सार्वजनिक भएन भने मै सार्वजनिक गर्छु भन्नुप¥यो ।’
उनले कारबाहीका लागि भनेर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र अदालतको आदेशअनुसार सामाजिक सञ्जाल नियमन गरेको आरोपमा तत्कालीन सञ्चारमन्त्रीलाई समेत कारबाही गर्न सो समितिले सिफारिस गरेको भन्दै अदालतको आदेश मान्दा कसरी मानवअधिकारको उल्लंघन हुन्छ भनेर प्रश्न गरे ।
नेतृत्व नछाड्ने अडान
एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने भन्दै मोर्चाबन्दी सुरु भइसकेको छ । यद्यपि, आफू यस्तो अप्ठेरो अवस्थामा पार्टी छाडेर नभाग्ने ओलीले बताएका छन् । ‘अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर होइन । त्यसका निम्ति होइन,’ ओलीले भने ।
जस्तोसुकै परिस्थिति आए पनि संघर्षको नेतृत्व गर्नु, पार्टीको नेतृत्व गर्नु भनेको संघर्षको नेतृत्व गर्नु रहेको उनले बताए । उनले आफूले नेतृत्व छाड्छ भन्ने कुनै आशंका नराख्न आग्रह गरे । ओलीले भने, ‘मैले बीचमै झोला फ्याँकेर अलपत्रै छोडेर हिँड्ने हो कि भन्ने, त्यो आशंका मनमा नलिनुहोला । म अप्ठ्यारो परिस्थितिसँग जुधेर, पार्टीलाई अगाडि बढाएर, पार्टीलाई सफलतामा पु¥याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधान, विधि, प्रक्रिया छन्, त्यसबमोजिम मैले विश्राम लिने स्थिति बन्छ ।’
पार्टी, आन्दोलन र देशलाई यस चुनौतीको सामना गर्दै अगाडि बढाउने संकल्प दृढ रहेको बताए । ओलीले व्यक्तिगत रुपमा घुँडा नटेक्नेसमेत बताए । ‘म व्यक्तिगत तवरमा पनि ढल्न सक्छु, पछारिन सक्छु तर घुँडा टेक्नेवाला छैन । मेरो शिर काटिन सक्छ तर हात उठाउनेवाला छैन,’ उनले भने ।
ओलीको बोलीपछि योगेशले सम्झिए बूढाको कथा
एमाले उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष ओलीले नेतृत्व नछाड्ने संकेत गरेपछि एक जना बूढा मानिसको कथा सम्झिएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नै अध्यक्ष ओलीको कटाक्ष गर्दै भट्टराईले ती बूढाको कथा खुबै सम्झना आएको बताएका हुन् । उक्त कथामा बसमा डण्डी समातेर उभिएका ती बूढाले आफूले गाडीलाई पल्टिनबाट जोगाएको भन्दै गौरव गरेको उल्लेख गर्दै ओलीमाथि व्यंग्य गरेका छन् ।