काठमाडौं - काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट हात्तीको दाह्रासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । राष्ट्रपति कार्यालयको भित्तामा सजाइएको ती दाह्रा जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते चोरी गरेर लगेको पाइएको स्रोतले बताएकाे छ । प्रहरीले तथ्यहरु संकलन भइरहेका कारण अहिल्यै औपचारिक रुपमा भन्ने अवस्था नरहेको बताएको छ ।
पक्राउ पर्नेहरूमा राजीव महर्जन, टेकप्रसाद गुरुङ, पुरन बोहरा, आयुष महर्जन र सन्तबहादुर भुजेल छन् ।तारकेश्वर नगरपालिका-९, मनमैजु बस्ने राजीव महर्जनले वन्यजन्तुको अङ्ग अवैध रूपमा सञ्चय र बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा २ वटा हात्तीको दाह्रा बरामद गरिएको थियो । साथै, उनको कोठाबाट लागुऔषध ‘Tramadol-50’ लेखिएको १५० क्याप्सुल समेत फेला पारेको प्रहरीले बतायो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनुसन्धानका क्रममा हात्तीको थप व्यक्तिको पनि संलग्नता पाइएपछि अन्यलाई पनि पक्राउ गरिएको एसपी शरतकुमार क्षेत्रीले जानकारी दिए ।पक्राउ परेकामध्ये सन्तबहादुर भुजेलको कोठाबाट झोलाभित्र लुकाइराखेको थप २ वटा हात्तीको दाह्रा बरामद भएको छ ।
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा थप अनुसन्धान र कारबाही हुने बताइएको छ ।