काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो सार्वजनिक कार्यक्रममा आज सहभागी हुँदैछन्। उनी पार्टीको केन्द्रीय संगठन विभागद्वारा आयोजित दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्न काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेट पुग्ने कार्यक्रम रहेको छ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक कार्यशालाको उद्घाटन आज बिहान ११ बजे अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।एमालेले पार्टीको सांगठनिक सुदृढीकरण, सदस्यता विस्तार तथा संगठनलाई थप गतिशील बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गरेको जनाएको छ।
दुईदिने कार्यशालामा पार्टीका सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। साथै प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको पनि उपस्थिति रहने बताइएको छ।
कार्यशालामा पार्टी सदस्यता विस्तार, नवीकरण प्रक्रिया तथा सांगठनिक सुदृढीकरणका भावी योजनाबारे छलफल र अभिमुखीकरण गरिने एमालेले जनाएको छ।