बुटवल- लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्री फेरिने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन्।
मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले पदबाट राजीनामा दिने तयारी गरेका हुन्।
कांग्रेससँगको सत्ता साझेदारी र सरकारको नेतृत्व परिवर्तनबारे लामो समयदेखि छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि जेठको पहिलो सातामै मन्त्री हेरफेरको प्रयास गरिएको भए पनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैपटक सरकार पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया रोकिएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि मुख्यमन्त्री आचार्यले आफ्ना पार्टीका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेको स्रोतले जनाएको छ। एमाले स्रोतका अनुसार मन्त्रीका लागि गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे, रूपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीको नाम सिफारिस गरिएको छ। खत्री यसअघि सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने भुसाल, घिमिरे र चौधरी मन्त्रीका लागि नयाँ अनुहार हुन्।
पार्टीले दोस्रोपटक प्रदेशसभा सदस्य निर्वाचित भए पनि मन्त्री बन्ने अवसर नपाएका सांसदलाई प्राथमिकतामा राखेको जनाएको छ। सोही आधारमा रामजी घिमिरे र तुलसीप्रसाद चौधरी सिफारिसमा परेका हुन्। प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसाललाई पनि मन्त्रीका लागि अघि सारिएको छ।
यसैबीच, प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गर्ने निर्णय गरिसकेको छ। उक्त व्यवस्था सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ।उता, नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि दबाब बढाइरहे पनि मुख्यमन्त्री आचार्यले बजेट प्रस्तुत गरेपछि अर्थात् असार १ गतेपछि मात्रै नेतृत्व हस्तान्तरण गर्ने अडान कायम राखेका छन्। कांग्रेसबाट भावी मुख्यमन्त्री को बन्ने भन्ने विषय भने अझै टुंगो लाग्न सकेको छैन।