काठमाडौं - नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) ले आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिता ‘रामारोशन स्काई रन २०२६’ आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी असार ३ गते (जुन १७, २०२६) सुदूरपश्चिम प्रदेशको पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा सञ्चालन हुनेछ।
प्रतियोगिता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकाको सहकार्यमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत सुदूरपश्चिम नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन तथा स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
‘बाह्र बण्ड अठार खण्ड’ का नामले परिचित रामारोशन क्षेत्र समुद्री सतहबाट २,०५० मिटरदेखि ३,८५० मिटरसम्म फैलिएको छ। हिमाली ताल, विशाल पाटन, घना वन र मनोरम हिमशृङ्खलाबीच सञ्चालन हुने प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ।
प्रतियोगिता अन्तर्गत २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुनेछ। साथै स्थानीय युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले २० वर्षमुनिका खेलाडीका लागि ५ किलोमिटर सामुदायिक दौड पनि आयोजना गरिनेछ।
मुख्य २८ किलोमिटर दौडको मार्ग रामेखण्डबाट सुरु भई जिइंगले ताल, लामादह ताल, रोशन पाटन, चाँखाटप (३,८२० मिटर) तथा किनिमिनी पाटन हुँदै पुनः रामेखण्डमै समाप्त हुनेछ। करिब २,१५० मिटर उचाइ अन्तर समेटिएको यस मार्गमा धावकहरूको सुरक्षा र सुविधाका लागि ६ वटा वाटर पोइन्ट तथा ६ वटा चेकपोइन्टको व्यवस्था गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा अधिकतम १०० जना सहभागीलाई मात्र सहभागिताको अवसर प्रदान गरिनेछ। दर्ता जेठ १९ गते (जुन २, २०२६) देखि खुला गरिएको छ। प्रति सहभागी २ हजार ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको भए पनि स्थानीय सहभागीका लागि दर्ता निःशुल्क रहनेछ। साथै, पहिलो ३० जना दर्ता गर्ने सहभागीलाई काठमाडौं–रामारोशन–काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ।
दर्ता भएका सबै सहभागीलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानबाट यातायात सुविधा प्रदान गरिनेछ। सबै सहभागीले सहभागिता प्रमाणपत्र प्राप्त गर्नेछन् भने २८ किलोमिटर दौड पूरा गर्ने धावकलाई फिनिशर मेडल प्रदान गरिनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ५२ हजार रुपैयाँ रहेको छ। २८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसबाहेक दुवै विधाका शीर्ष १० स्थान हासिल गर्ने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।यस्तै, ५ किलोमिटर सामुदायिक दौडमा पुरुष तथा महिला दुवै विधाका उत्कृष्ट खेलाडीलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। सबै विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र समेत उपलब्ध गराइनेछ।
आयोजकका अनुसार ‘रामारोशन स्काई रन २०२६’ केवल खेलकुद प्रतियोगिता मात्र नभई सुदूरपश्चिम नेपालको प्राकृतिक सम्पदा, स्थानीय संस्कृति, साहसिक पर्यटन तथा ग्रामीण अर्थतन्त्रको प्रवर्द्धन गर्ने महत्वपूर्ण अभियान हो। यस प्रतियोगिताले नेपालमा स्काई रनिङ खेलको विकास, अन्तर्राष्ट्रिय खेल पर्यटनको विस्तार तथा रामारोशनलाई विश्वस्तरीय साहसिक खेल गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।