काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा प्रवक्ता देवराज चालिसेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेको २४ घण्टा पुग्नै लाग्दा पार्टीको धारणा सार्वजनिक गरेर सरकारले ‘जहाँ भोट, त्यहीँ बजेट’ को नीति लिएको टिप्पणी गरेका हुन् ।
‘समग्रमा यो बजेट आर्थिक रूपमा बोझिलो छ । तर, मृदुभाषामा कमजोरी लुकाइएको छ,’ प्रवक्ता चालिसेले सामाजिक सञ्जाल फेसबुमार्फत् भनेका छन्, ‘बजेटले जहाँ भोट, त्यहीँ बजेटको नीति लिएको छ ।’ सामाजिक सञ्जालबाट उदाएको सरकारले सामाजिक सञ्जाललाई नै सुखी र्पो गरी बजेट ल्याएको उनकाे भनाइ छ ।।
‘डिजिटल प्लेटफर्मबाट उदाएको सरकारले डिजिटल प्लेटफर्मलाई नै खुशी पार्ने गरी बजेट ल्याएको छ,’ चालिसेले भनेका छन्, ‘वितरणमुखी बजेटका लागि रास्वपालाई बधाई छ । वाचा पत्र, १०० बुँदे, १९ बुँदे यी त प्रचारका नेरेटिभ्स नै रहे, प्रचार गर्ने डिजिटल संसार त खुशी नै छन् ।’
सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्च उच्च र पुँजीगत खर्च न्यून रहेको कांग्रेसको भनाइ छ । ‘कुल बजेटको ५९.८ प्रतिशत (१२ खर्ब ७० अर्ब ५८ करोड) चालु खर्चमा छुट्याइएको छ,’ चालिसेले लेखेका छन्, ‘जब कि पुँजीगत खर्च मात्र २०.३ प्रतिशत (४ खर्ब ३१ अर्व १० करोड ) रहेको छ ।’