नयाँदिल्ली- भारतमा बढ्दो चरम गर्मी र त्यसबाट उत्पन्न जोखिमप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार कडा चेतावनी जारी गरेका छन् । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा तापक्रम असामान्य रूपमा बढिरहेका बेला उनले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका हुन् ।
यसैबीच, जङ्गलमा लागेको आगो नियन्त्रण गर्न सेनाले लामो समयसम्म सङ्घर्ष गरिरहेको छ भने गर्मीका कारण मृत्युका घटनासमेत रिपोर्ट भएका छन् । अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म एक्युआईका अनुसार बुधबार दिउँसो विश्वका ४५ सबैभन्दा तातो सहरमध्ये अधिकांश भारतमै रहेका थिए, जहाँ तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । यस्तो अवस्थाले देशका धेरै भागमा जनजीवन प्रभावित बनेको छ ।
प्रधानमन्त्री मोदीले आफ्नो कार्यालयमार्फत जारी गरेको सन्देशमा भारतका विभिन्न क्षेत्रमा तापक्रम निरन्तर बढिरहेको र यसले नयाँ चुनौती सिर्जना गरिरहेको उल्लेख गरे। उनले गर्मीको असरलाई हल्का रूपमा नलिन आग्रह गर्दै सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल गरे । उनले अत्यधिक गर्मीले शरीरमा पानीको कमी (डिहाइड्रेसन) ल्याउने, रगत गाढा बनाउने तथा गम्भीर अवस्थामा अङ्ग फेल हुने जोखिम हुने बताए । चेतावनीको सङ्केतलाई बेवास्ता गर्दा अवस्था अझ खतरनाक बन्न सक्ने र ‘हिट स्ट्रोक’ को सम्भावना बढ्ने उनको भनाइ छ ।
यसैबीच, गत साता मात्रै दक्षिणी राज्य तेलङ्गानामा गर्मीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । गर्मीबाट बालबालिका, वृद्ध तथा बाहिर काम गर्ने श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको प्रधानमन्त्रीले उल्लेख गरे । भारत मौसम विज्ञान विभाग (आइएमडी) का अनुसार उत्तर प्रदेशको बान्दा सहरमा मङ्गलबार ४७.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ । यो सामान्यभन्दा ३.८ डिग्री बढी हो । यस महिनाको सुरुमै सोही क्षेत्रमा तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको थियो ।
राजधानी नयाँदिल्लीमा बुधबार दिउँसो तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । विज्ञहरूका अनुसार गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि उच्च बन्दै गएको छ । यसै सन्दर्भमा भारतीय सेनाले हिमालयन क्षेत्रको पहाडी सहर कसौली नजिक लागेको डढेलो नियन्त्रण गर्न १६ घण्टाभन्दा बढी समयसम्म प्रयास गरेको जनाएको छ । सेनाका अनुसार वायु सेनाका हेलिकप्टरहरूले ठूलो मात्रामा पानी खसालेर आगो नियन्त्रणमा निर्णायक भूमिका खेलेका छन्, यद्यपि आगो निभाउने कार्य अझै जारी छ ।
मौसम विभागले गर्मी बढेसँगै देशका विभिन्न भागमा पानीको अभाव गहिरिँदै गएको चेतावनीसमेत दिएको छ । ‘नदीहरू सुक्ने, भू–जल स्तर घट्ने, खडेरी र पानी सङ्कट बढ्ने अवस्थाबीच प्रत्येक थोपा महत्त्वपूर्ण हुन्छ’ भन्दै विभागले नागरिकलाई पानी बचत गर्न आग्रह गरेको छ ।
विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण उष्ण लहरहरू पहिलेभन्दा लामो, बारम्बार र बढी तीव्र हुँदै गएका छन् । दिनको उच्च तापक्रमसँगै राति पनि न्यून तापक्रम नघट्दा मानिसहरूलाई राहत मिल्न कठिन भइरहेको छ ।भारतमा हालसम्मकै उच्च आधिकारिक तापक्रम सन् २०१६ मा राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । वर्तमान अवस्थाले त्यसतर्फ पुनः उन्मुख हुने सङ्केत देखिन थालेको भन्दै स्वास्थ्य र वातावरणीय जोखिमप्रति थप सतर्कता अपनाउन विशेषज्ञहरूले आग्रह गरेका छन् ।