काठमाडौं - श्रीलंकाले नेपाली नागरिकलाई निःशुल्क पर्यटक भिसा (ईटीए) सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । काठमाडौंस्थित श्रीलंकाली दूतावासले सूचना जारी गर्दै नेपालसहित ४० देशका नागरिकका लागि निःशुल्क ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ETA)’ लागू गरिएको जनाएको हो ।
दूतावासका अनुसार पर्यटन प्रयोजनका लागि श्रीलंका जाने नेपाली नागरिकले आगामी मे २५, २०२६ देखि ३० दिन अवधिको डबल इन्ट्री पर्यटक भिसा निःशुल्क प्राप्त गर्न सक्नेछन् । श्रीलंका जानुअघि यात्रुहरूले आधिकारिक वेबसाइटमार्फत ईटीए आवेदन गर्नुपर्ने दूतावासले जनाएको छ ।
आवश्यक जानकारी तथा सहायताका लागि काठमाडौंस्थित श्रीलंकाली दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।श्रीलंकाको यो निर्णयले नेपाली पर्यटकलाई सहजता प्रदान गर्नुका साथै दुई देशबीचको पर्यटन तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
