काठमाडौं - अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म पनि पूँजीगत खर्च उल्लेख्य रूपमा बढ्न नसकेको स्वीकार गरेका छन् । बुधबार संसदमा आर्थिक सर्वेक्षण २०८२/८३ प्रस्तुत गर्दै उनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र आगामी चुनौतीबारे जानकारी गराएका हुन् ।
अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रकै वृद्धिदर खुम्चिएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको बताए । उनका अनुसार नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
उनले चालु आवमा राजस्व संकलनमा सुधार देखिएको उल्लेख गर्दै आर्थिक सर्वेक्षणले औंल्याएका विषयहरू आगामी बजेटमार्फत सम्बोधन गरिने बताए ।विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित रहने अनुमान गरिएको जानकारी दिँदै उनले नेपालमा उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि रहने बताए । बागमती र गण्डकी प्रदेशबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा कम रहने उनको भनाइ थियो ।
अर्थमन्त्रीका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहनेछ । यस वर्ष प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत, द्वितीय क्षेत्रको १३.७३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६१.८१ प्रतिशत रहने अनुमान गरिएको छ ।
ऊर्जा क्षेत्रतर्फ प्रगति भएको उल्लेख गर्दै उनले फागुनसम्म देशको विद्युत् उत्पादन क्षमता ४ हजार १०५ मेगावाट पुगेको र ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच विस्तार भएको जानकारी दिए ।