काठमाडौं- चालु आर्थिक वर्षको हालसम्म परियोजना बैंकमा दर्ता भएका परियोजनाको सङ्ख्या चार हजार ३९१ पुगेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार, नयाँ आयोजनाको सङ्ख्या ३९० छन् ।
त्यसमा आव २०८१/८२ को ६ वटा, गत चैत २२ मा १२६, गत वैशाख १० मा १३०, गत वैशाख १५ गते ३१ र यही जेठ ४ गते मात्रै १०३ आयोजना दर्ता भएका छन् । परियोजना बैंकमा रहेका आयोजनामध्ये क्रमागतका ९२ र अध्ययनका क्रममा रहेका तीन हजार ९०९ वटा छन् ।
अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्र
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पेस गर्नुभएको विवरणअनुसार, मुलुकको अर्थतन्त्रको वर्तमान स्थिति र सम्भावनाका क्षेत्रमा विद्युत् उत्पादन र पर्यटक सङ्ख्या बढेको उल्लेख गरेका छन् । बैंकमा अधिक निक्षेप तरलता रहेको र विदेशी विनिमयको पर्याप्त सञ्चिति रहेको छ ।
यस्तै, वनको उत्पादकत्वमा वृद्धि, काष्ठ सामग्री र गैरकाष्ठ वन पैदावर निकासीमा उल्लेख्य वृद्धि भई २० अर्ब रुपैयाँ बराबर पुगेको अर्थमन्त्री डा वाग्लेले जानकारी दिए । यस्तै, विश्व कार्बन व्यापारमा प्रवेश गरेको, कार्बन बिक्रीबाट पहिलो किस्ताको नौ दशमलव चार मिलियन अमेरिकी डलर बराबरको रकम रकम वन विकास कोषमा जम्मा भएको छ ।
कच्चा पदार्थ प्रदान गरी सिमेन्ट तथा जलविद्युत् उत्पादनमा अभिवृद्धि भई आत्मनिर्भर र निर्यातउन्मुख रहेको र तौलरहित व्यापार, डिजिटल सुशासन र सूचना प्रविधिका क्षेत्रबाट नेपालको युवा जनशक्तिको लाभ एवम् रोजगारी अभिवृद्धि हुने अवस्था रहेको उनले जानकारी दिए।