काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको प्रष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उनले बताए ।
आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी पनि दिए । तर, सदनबाट बाहिर निस्किएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले विरोध गर्न जारी राख्ने बताएका हुन् ।
उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’ आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न सोधेको तर मन्त्रीहरूले जवाफ नदिएको उनले बताए । ‘हामीले उत्तर पाएका छैनौँ । उहाँहरू आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल २-४ जना मन्त्री आउनुभो । हामी प्रत्येक दिन नै प्रश्न गर्छौं,’ साम्पाङले भने ।
मन्त्रीहरू आए पनि प्रश्न गर्न नपाएको उनको गुनासो छ । सभामुखले नै प्रश्न गर्न नपाउने भनेर रुलिङ गरेपछि आफूहरूले विरोध गरेको उनले बताए । यसरी दिनदिनै विरोध गरिरहँदा निलम्बनमा पर्नुहोला नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा साम्पाङले जवाफ दिए, ‘ठिक छ त । हामी रेडी छम् । म रेडी छु । जनताको लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ । आज नै गर्नु भनेको गर्नुभएन ।’